नेपालवाणी / जनकपुरधाम
धनुषाको शहिदनगर नगरपालिका मेयरका उम्मेदवार उदय कुमार बरबरिया यादवले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने घोषणा गरेको छ । दलित, पिछिडिएका वर्ग, विपन्न समुदाय तथा नगरका आम नागरिकका लागि कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षाको घोाषण गरेको हो । उनले बुधवार चुनावी सभालाई सम्बोधन गर्दै आम नागरिक तथा गरिब, किसान र मजदुरको घरपरिवारलाई विशेष मध्यनजर गरेर कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य गर्न लागेको बताए ।
शहिददगर नगरपालिकाका निवर्तमान मेयर समेत रहेका बरबरिया (यादव) ले सामुदायिक तथा नीजि विद्यालयहरुमा स्थानीय विषयको पठन, पाठन तथा स्थानीय पाठ्य सामग्री र पाठ्यक्रमलाई विकास गरी सामुदायिक विद्यालयमा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरिने जनाएको छ । उनले भने, ‘सामुदायिक स्तरबाट एक नमूना विद्यालय छनोट गरी अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन गरी उत्कृष्ठ विद्यालयको रुपमा घोषित गरिनेछ । साथै एक विद्यालय एक नर्सको अवधारणालाई समेत अनिवार्य लागु गरिनेछ ।’
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहेका यादवले शैक्षिक गुणस्तर मापण गर्न शैक्षिक क्रियाकलापलाई अझै व्यवसायिक र व्यवस्थित गर्न प्रत्येक विद्यालयहरुमा सिसिटिभि जडान गरिनेछ । साथै नगर प्रमुख छात्रवृति योजना अन्तर्गत सबैलाई शिक्षाको मुलधारमा ल्याई समग्र विकासलाई गति दिईने जनाएको छ । ‘नगरपालिका भित्रका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुलाई प्राविधिक शिक्षालयको मोडेलमा लगी हबको रुपमा विकास गरिनेछ ।’
अनुसन्धान, अध्ययन तथा खोजका लागि पुस्तकालयका साथै ई–पुस्तकालयको अवधारणा उच्च गतिको ईन्टरनेट सुविधा समेत प्रदान गरिने भएको छ । निवर्तमान मेयर बरबरियाले भने, ‘मेयर बनेर हैन, नागरिकको सेवक भएर काम गर्छु र गर्दैआएको छु ।’


