बर्दिबास : पद्म-शमशेर स्मृति प्रतिष्ठान बर्दिबास (महोत्तरी) ले आफ्नो छात्रवृतिमा अध्ययन गरी रहेका छात्रछात्रालाई रकम प्रदान गरेको छ ।

पछिल्ला दुई वर्षदेखि प्राविधिक विषयको डिप्लोमा तहको अध्ययनमा छात्रवृति दिदै आएको प्रतिष्ठानले शनिबार शिक्षण संस्थाको शुल्कवापतको रकम एक समारोहबीच छात्राछात्रालाई उपलब्ध गराएको हो । प्रतिष्ठानको छात्रवृतिमा बर्दिबास नगरक्षेत्रका विभिन्न विद्यालयमा गरी हाल १९ जना छात्रछात्रा अध्ययनरत छन् ।

निम्न आय भएका परिवारका छानिएका जेहेन्दार छात्रछात्रालाई प्रतिष्ठानले २०७६ सालको शैक्षिक सत्रदेखि विद्यालय शुल्कवापतको पूणर् छात्रवृति दिदै आएको छ । बर्दिबासस्थित होटल विनायकका सञ्चालक विष्णु खड्काले आफ्ना दिवंगत माता पद्मकुमारी खड्का र पिता शमशेरबहादुर खड्काको स्मृतिमा प्रतिष्ठान स्थापित गर्नुभएको हो । प्रतिष्ठानको कोष होटल विनायकको मुनाफाको निश्चित प्रतिशत रकमबाट सञ्चालन हुँदै आएको छ ।

छात्रवृति पाउने छात्रछात्रा नापी, सिभिल इञ्जिनियरिङ्ग, अटोमोवाइल, पशुविज्ञान, कृषिविज्ञान, होटल म्यानेजमेन्टसहितका प्राविधिक विषयमा अध्ययनरत छन् । बर्दिबास नगरक्षेत्रका प्राविधिक धारको अध्ययन/अध्यापन गराउँदै आएका निर्मल लामा बहुप्रावधिक शिक्षालय बर्दिबास-११ खयरमारा , जनता मावि बर्दिबास-३ गौरीडाँडा, देउराली मावि बर्दिबास-१ , जनहित नन्दलाल मावि बर्दिबास-६ किसाननगर र जनता मावि बर्दिबास-२ मा गरी हाल १९ जना छात्रछात्रा प्रतिष्ठानको छात्रवृतिमा अध्ययनरत छन् । यसबाहेक यसपालिको शैक्षिक सत्रमा वाणिज्य विषयमा पनि प्रतिष्ठानले छात्रवृति उपलव्ध गराउन थालेको छ ।

प्रतिष्ठानले शनिबार नै आफ्नो छात्रवृतिमा अध्ययनरत छात्रछात्रालाई अभिमुखिकरण तालिम दिएको छ । अध्ययनमा कसरी विशिष्टता हासिल गर्नेबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रतिष्ठानका सचिव कुमार घिमिरेको भनाइ छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष बढीमा १५ जनासम्म मापदण्डबाट छानिएका छात्रछात्रालाई छात्रवृति उपलब्ध गराउने नीति बनाएको छ । यद्यपि विगत शैक्षिक सत्रहरुमा तोकिएको मापदण्डभित्र शैक्षिक सत्र २०७७ मा ११ र २०७८ मा आठजनामात्र पाइएको प्रतिष्ठानले स्पष्ट पारेको छ ।

छात्रवृति दिइने छात्रछात्रा प्रतिष्ठानले प्राप्त आवेदनभित्र शिक्षाविद् , शिक्षक प्रतिनिधि र सञ्चारकर्मी सम्मिलित स्वतन्त्र अनुगमनटोलीको सिफारिस र निणर्यबाट दिदै आएको छ ।

२०७९ जेष्ठ १४, शनिबार २१:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय