
बर्दिबास : आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तिका अवसरमा आयोजित कविता प्रतियोगिताका उत्कृष्ट प्रतियोगी पुरस्कृत भएका छन् ।
महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशन र बर्दिबास छन्द चौतारीको संयुक्त आयोजनमा बुधबार गौतम होटलमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा पुरस्कृत भएका हुन् । बर्दिबास नगरक्षेत्रका १२ माध्यमिक विद्यालयका ३६ छात्रछात्रा प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगितामा सहभागी छात्र दिपेश भट्टराई, पुरुष्वत्तम बराल र छात्रा अनिशा माझी क्रमशः पहिला, दोस्रा र तेस्रा भएका छन् । पहिला हुने भट्टराई, दोस्रा हुने बराल र तेस्रा हुने माझीलाई क्रमशः सातहजार, पाँच हजार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक मध्येको बर्दिबास हेल्प फाउण्डेशनका उपाध्यक्ष दानबहादुर (विष्णु) थापाले जानकारी दिनुभयो ।
त्यसैगरी छात्राहरु अमिशा खड्का, जेनिशा थापा, सम्झना झा र रेजिना काफ्लेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारमा एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी सबै छात्रछात्राले सहभागिता प्रमाणपत्र प्राप्त गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिमा पुरस्कार राशीसहितको प्रतियोगिता सम्पन्न भएको बर्दिबासमा सम्भवतः यो पहिलो पटक हो । प्रतियोगितामा प्राज्ञहरु दिपक पौडेल, बिपीराज दाहाल र उद्धव आचार्यसम्मिलित निर्णायक मण्डल थियो ।
ब्र्दिबास छन्द चौतारीका नारायण घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रम मधेश प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्य, बर्दिबास हेल्प फाउण्डेशनका सुमित्रा भट्टराईको संयोजन र बर्दिबास छन्द चौतारीका प्रेम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।