File Photo

काठमाडाैं : नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्टरनेशनल टी–२० लिगका मार्की खेलाडी बनेका छन्। टी–२० लिगका अनुभवी खेलाडी सन्दीपलाई इमिरेन्ट्स क्रिकेट बोर्डले मार्की खेलाडीको सूचीमा राखेको हो।

इन्टरनेशनल टि–२० लिगको पहिलो संस्करणका लागि इमिरेट्स क्रिकेट बोर्डले सन्दीपसहित १२ खेलाडीलाई मार्की खेलाडीको सूचीमा राखेको छ। इन्टरनेशनल टि–२० लिगमा मार्की खेलाडी बन्ने सन्दीप एसोसिएट राष्ट्रका एकमात्र खेलाडी हुन्।

सन्दीपसँगै मार्की खेलाडीमा जसमा इंग्ल्यान्डका मोइन अली, डेविड मलान, आन्द्रे रसेल, वानिन्दु हसरंगा, सुनिल नारिन, इभान लेविस, कोलिन मुन्रो, फाबियन एलेन, साम विलिङ्स, टम कुरान, एलेक्स हल्स, दुस्मथ चमीरा, सिम्रन हेटमेयर, अकेल हुसैन, क्रिस जोर्डन, टम बान्टोन, क्रिस लिन, रोभमन पावेल, भानुका राजापाक्ष, मुजिव उर रहमान छन्।

प्रतियोगितामा अनुबन्धन हुने खेलाडीका लागि इमिरेट्स क्रिकेट बोर्डले आकर्षक तलब घोषणा गरेको छ। प्रतियोगितामा अनुबन्ध हुने खेलाडीले १० हजारदेखि ४ लाख ५० हजार अमेरिकी डलरसम्म पाउने छन्। यो लिग इन्डियन प्रिमियर लिग आईपिएल पछि सर्वाधिक पारिश्रमिक भएको लिग हुने भएको छ।

इमिरेट्र क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता सन् २०२३ को जनवरी ६ देखि फेब्रुवरी १२ सम्म हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहने छन्। ती ६ मध्ये ३ टिमको लगानीकर्तामा आईपिएलका टिम मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स रहने छन्।

प्रत्येक टिमले १८ खेलाडी अनुबन्धन गर्नुपर्ने नियम आयोजकले बनाएको छ। जसमा १२ विदेशी, ३ स्थानीय र २ एसोसिएट र १ युएईको यू–२३का खेलाडी हुनुपर्नेछन्। यस्तै, प्लेइङ सेटमा बढी ९ विदेशी र १ स्थानीय र १ एसोसिएट खेलाडी राख्नु पर्ने नियम पनि आयोजकले बनाएको छ।

प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने छ। जसमा समूह चरणमा ३०, प्लेअफका ३ र फाइलन गरी कुल ३४ खेल हुनेछ।

२०७९ श्रावण २३, सोमबार १८:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय