
राजकरण महतो,
बर्दिबास : एक साता भित्र बर्दिबास सरकारी अस्पतालमा आइसियु सहितको भेन्टिलेटर सेवा संचालन हुने भएको छ । भेन्टिलेटरको अभावमा एक सतामै सर्पको टोकाईबाट दुई जनाको ज्यान गएपछि स्थानीयहरु चिन्तित भएका थिए ।
पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलको बिशेष पहलमा बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिसबास सरकारीलाई व्यवस्थित बनाउन लागेका छन् । बर्दिबास अस्पताल संचालनका लागि बर्दिबास नगरपालिका र धुलिखेल अस्पताल बिच दुई पक्षिय सम्झौता भएको छ ।
स्वास्थ्य सेवा, शिक्षा, अनुसन्धानको विकास, विस्तार र संचालनका लागि १० बुँदे सम्झौता भएको हो । सम्झौतासंगै बर्दिबास अस्पतालमा थन्किएको तीन सेट भेन्टिलेटर प्रयोेगमा आउने छ । यो सम्झौता पाँच वर्षका लागि गरिएको हो ।
बर्दिबास नगरपालिकाका मेयर क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डाक्टर विराज कर्माचार्यले दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् । पूर्व शिक्षामन्त्री पोखरेलको लगातार ३ वर्षको प्रयत्नले बर्दिबास अस्पताललाई सुविधासम्पन्न तथा गुणस्तरिय सेवा संचालनका लागि धुलिखेल अस्पतालसंग सम्झौता भएको हो ।
‘एक हप्ताभित्र जनशक्ति सहितको भेन्टिलेटर सेवा बर्दिबास सरकारी अस्पतालले प्रदान गर्छ,’ पूर्व मन्त्रि पोखरेलले भने । यता मेयर क्षेत्रीले धुलिखेल अस्पतालले आइसियु सहितको भेन्टिलेटर सेवा प्रदान गर्दा आवश्यक पर्ने सबै खाले सहयोग गरिने बताए ।
धुलिखेल अस्पतालले सामुदायिक अस्पतालहरूमा छुट्टै छाप छोडेको छ । दुई पक्षिय सहमतिले चाडैं बर्दिबास अस्पतालमा आईसियू संचालनमा आउन सम्झौतामा उल्लेख छ । त्यसका लागि प्रविधिक सहयोग धुलिखेल अस्पतालको टिमले उपलब्ध गराउने छ ।
‘म मन्त्री भए लगत्तै करिब ३ बर्ष अघि देखि गरेको प्रयत्नले आज सार्थकता पाएको छ’, महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पोखरेलले समाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘यो कार्यक्रम र सहकार्यलाई अगाडि बढाउन तत्कालीन मेयर विदुर कार्कीले लिएको अग्रसरतालाई पनि स्मरण गर्न चाहन्छु ।’
सम्झौता यसरी भयो
कोरोना महामारीका बीच बर्दिबास वडा नम्बर १४ वटा अस्पताल सारेर बर्दिबास २ स्थित नवनिर्मित भवनबाट सेवा सुचारु गरिएको थियो । पूर्व मेयर विदुरकुमार कार्कीले पूर्व मन्त्रि पोखरेलको पहलमा बर्दिबास सरकारी अस्पतालमा ५ वेडको आइसीयु सहितको भेन्टिलेटर सेवा, बर्दिबास सरकारी अस्पतालका डाक्टर, नर्स, अनमी लगायतलाई तालिम, जनशक्ति व्यवस्थान, अस्पताल व्यवस्थान, बर्दिबासबाट रेफर गरेका विरामीको उपचारका लागि धुलिखेल अस्पतालसंग सम्झौता गर्न काम थालेका थिए । तर, कोरोना महामारीले काम प्रभावित बन्यो । चुनाव आयो । त्यसपछि अहिले आएर बर्दिबास नगरपालिकाले धुलिखेल अस्पतालसंगको सम्झौता सफल भएको हो ।