महोत्तरी, १७ माघ ।

आफ्‌नो ठाउँको गुरुकुल सम्मानित र पुरस्कृत हुँदा महोत्तरीको मटिहानी उत्सवमय बनेकाे छ ।

मुलुककै जेठो विद्यालय मानिएको गुरुकुल भनेर चिनिने राजकीय संस्कृत माध्यमिक विद्यालयले शुक्रबार ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार–२०८२’ तथा सम्मानपत्र पाएको खुसीमा मटिहानी उल्लासमा छ । शब्दयात्रा प्रकाशनले शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा आयोजित समारोहमा गुरुकुललाई २५ हजार नगद र सम्मानपत्रसहित यो पुरस्कार प्रदान गरेको हो ।

“गुरुकुल सधैं हाम्रो गौरव रहँदै आएको छ, यो पुरस्कार र सम्मानबाट हाम्रो ओज अझ बढेको छ” मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “गुरुकुल पुरस्कृत र सम्मानित भएको यो अवसरले मटिहानीबासी उत्सवमा छन् ।” सबै धर्म र जातिको साझा शिक्षालय बनेर प्राचीन र वैज्ञानिक संस्कृत भाषा साहित्यको विकास, संरक्षण र सम्बर्द्धनमा गरेको योगदानको कदरस्वरुप यो पुरस्कार र सम्मान प्राप्त भएको सम्मानपत्रको भाव उद्धृत् गर्दै मण्डलले बताउनुभयो ।

विक्रम सम्वत् १७७५ मा सन्त शिरोमणि तस्मैयाबाबाको प्रेरणाले स्थापित गुरुकुलले शैक्षिक क्षेत्रमा दिएको योगदान यसपालि शब्दयात्रा प्रकाशनले सम्झेर पुरस्कृत र सम्मानित गर्दा अझ समर्पणभावले शैक्षिक उन्नयनमा लाग्न प्रेरणा दिएको यहाँका शिक्षक बताउँछन् । “सत्कर्मलाई जीवनभर साध्नुभएका कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित पुरस्कार ग्रहण गर्दा जीवनमा केही गरिएछ भन्ने लागेको छ” राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेल भन्नुहुन्छ, “यो पुरस्कार र सम्मानले थप जिम्मेवारी वोध गराएको छ ।” यो पुरस्कार र सम्मान गुरुकुलका लागि प्रधानाध्यापक पौडेलले ग्रहण गर्नुभएको हो । गुरुकुललाई पुरस्कार कोषका व्यवस्थापक स्व. बद्रीविक्रम थापाका पुत्र किरण थापा, शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र पुरस्कार चयन समितिका सदस्य कृष्णप्यारी नकर्मी हस्ताक्षरित सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

श्री कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले व्यवस्थापन गर्दै आएको यो पुरस्कार तथा सम्मान शब्दयात्रा प्रकाशनले विभिन्न विधामा प्रदान गर्दै आएको छ । गुरुकुललाई यसपालि यो प्रतिष्ठित पुरस्कार र सम्मान प्राप्त हुनुले प्राचीन भाषा संस्कृतको विकासमा मटिहानीलाई अझ व्यवस्थित रुपले अघि बढ्न प्रेरणा मिलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । यो मठ गुरुकुलको संरक्षक रहँदै आएको छ ।

महोत्तरीको हाल औरही–७ भोइलटिम्कियाका बासिन्दा पूर्वप्रशासक बद्रीविक्रम थापालाई कुशल प्रशासक एबं सत्य र इमानका प्रतीकका रुपमा महोत्तरीबासी सम्झन्छन् । विगतमा महोत्तरीकै बडाहाकिम र पछि पञ्चायतकालमा जनकपुर अञ्चलको अञ्चलाधीश र त्यसपछि गुठी संस्थानको अध्यक्षको हैसियतमा थापाको कार्यकाल सकारात्मक उदाहरणमा उभ्याइने रहेको मटिहानी–७ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल सम्झनुहुन्छ । कर्मयोगी बद्रीविक्रमका नाउँको पुरस्कार र सम्मान आफैंमा एक गौरव भएको मण्डलको कथन छ । यो पुरस्कार मटिहानीस्थित गुरुकुलले प्राप्त गर्नु यहाँका बासिन्दाका लागि उत्सव नै बनेको उहाँ बताउनुहुन्छ ।

पुरस्कृत र सम्मानित हुने गुरुकुललाई संस्कृत वाङ्मय अनुसन्धान केन्द्रका रुपमा विकास गरिन पर्ने मटिहानी नगरपालिकाले सङ्घीय सरकारसँग माग गर्दै आएको छ । यस विद्यालयमा अन्य साधारण विद्यालयमा झैं सबै अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत भाषा, कर्मकाण्ड र ऐच्छिक विषयमा वेद, व्याकरण, साहित्य, ज्योतिष र न्यायशास्त्रसहितका संस्कृत माध्यम भाषाका विषय पठनपाठन हुँदै आएका छन् । दुई दशकअघिसम्म ब्राह्मण जातिका लागि मात्र पढ्ने व्यवस्था रहेको यो विद्यालय अबभने सबै जातजातिका लागि खुला भएको छ । अहिले गूरुकूलमा हिन्दू धर्म परम्पराका मात्र नभएर इस्लाम धर्मावलम्बी पनि अध्ययन गरिरहेका प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । गुरुकूलमा मुलुकभित्रका २० जिल्ला र मित्रराष्ट्र भारतका गरी १४२ जना छात्रछात्रा अध्ययनरत रहेका पौडेलको भनाइ छ ।


२०८२ माघ १७, शनिबार ०८:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय