
- राजकरण महतो,
शिक्षा समाज रुपान्तरणको शक्तिशाली हतियार हो भने विद्यालय असल नागरिक उत्पादन गर्ने कारखाना । जहाँ हाम्रो बाल्यकाल बितेको थियो, अहिले कलिला नानीहरुको दैनिकी बितिरहेको छ ।
आजको स्कूल कस्तो छ ? त्यसले भोलीको समाज र राष्ट्र कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्दछ ।
हाम्रो विद्यालयमा प्रदान गर्ने शिक्षा र त्यहाँको वातावरणले शैक्षिक गुणस्तर निर्धारण गर्छ । यहि मर्म र धर्मलाई पक्रेर हामीले देखेको सपना सकार बन्दै गएको छ । कोरोना महामारीमा अरु घरभित्र लुकिरहँदा हामी युवाहरु महोत्तरीको बर्दिबास नगरपालिका–९ स्थित पशुपतिनगरमा पर्ने श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा शैक्षिक रुपान्तरणका लागि काम गरेका थियौं ।
के दिन, के रात सबै एक थियो, जनसहयोगी युवा सञ्जालका लागि । सिरानीमा सर्प आएर लुक्दा पनि हामीलाई केही गरेनन् । भनिन्छ, जो मर्न जान्छ त्यही बाँच्न सक्छ । हो, त्यो कठोर मेहनतले आज उपलब्धी चुमिरहेको छ । विद्यालय परिषर रमणीय बन्दै गएको छ । स्कूलको इतिहास पठनीय भएको छ । हामीले गरेको रचनात्मक कामले चर्चा पाउँदा हामी फुरुङ्ग छौं । भनौं, वुवाआमाले दशैंमा बजारबाट नयाँ लुगा किनेर ल्याइदिदाँ भुँईमै खुट्टा नभएको जस्तै ।
हामीले निर्माण गरेको सुन्दर बगैंचामा बालबालिकाहरु हाँस्दै खेलिरहेको देख्दा लाग्छ समाज रुपान्तरणका लागि काम गर्दा दिने खुशी यहि नै हो । स्कूलमा हामीले देखेको सपना पुरा गर्न सबै सरोकारवला पक्ष समारात्मक भएर सक्रिय भइदिदाँ लाग्छ अब सामुदायिक विद्यालय रुपान्तरण भएरै छाँड्छ । कक्षा कोठामा शिक्षकहरु खुशी भएर पढाई रहँदा लाग्छ अब गुणस्तरीय शिक्षा प्राप्त गर्ने दिनको सुरुवात भएको छ ।
विद्यालयमा बालउद्यान, भवन निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन, प्राविधिक शिक्षा जस्ता थुप्रै पक्षमा भइरहेको काममा सहयोग गर्नु हुने सबैमा सलाम गर्न चाहन्छु । अझै गर्नु धेरै छ, समय थोरै छ । हो, हामी अरु गर्न सक्छौं । धन्यवाद !