काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।

२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’

चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् ।

आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् । ‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु,’ उनले फेसबुकमा लेखेका छन् ।

२०७९ आश्विन १८, मंगलवार ०७:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय