
नेपालवाणी / बर्दिबास (महोत्तरी)
आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित सत्तारुढ गठबन्धनको बैठकले महोत्तरीको गठबन्धनको अवस्था बारे व्यापक छलफल गरेको छ । महोत्तरी जिल्लामा केन्द्रित रहेको सत्तारुढ गठबन्धनको अवस्था, आगामी रणनीति र कार्यदिशा तथा जनताको अपेक्षा बुझ्न बृहत छलफलबाट विभिन्न निर्वाचन परिचालन समिति गठन भएको छ ।
महोत्तरीका नेपाली काँथ्रेस जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षतामा महोत्तरी बर्दिबास स्थित भएको बृहत छलफलमा निर्वाचन केन्द्रित समिति गठन गरिएको बैठकमा सहभागि नेता गिरिराजमिण पोखरेलले जानकारी दिए ।
उनले भने, ‘बैठकबाट संघीय निर्वाचन परिचालन कमिटी, प्रदेश निर्वाचन परिचालन कमिटी र वडा देखि बुथ सम्मको चुनाव परिचालन कमिटी गठन गरिएको छ । जसले निर्वाचनलाई हरेक दृष्टिबाट अवलोकन गर्नेछ ।’ पोखरेलले भने, ‘महोत्तरीको चारवटै निर्वाचन क्षेत्रको वस्तुगत अवस्था बारेमा सबैले आ–आफ्नो खाका प्रस्तुत गर्नुभएको छ । महोत्तरी चारवटै निर्वाचन सत्ता गठबन्धनका उम्मेलवार विपक्षी भन्दा धेरै मतान्तरको साथ अघि रहेको छलफलको निष्कर्ष छ । आजको बैठकले चुनावी रणनीतिमा छुटेका विषयहरुलाई समावेश गर्ने र युवा दस्तालाई चुनावको पहिलो मोर्चामा खटाउने निर्णय समेत भएको बताए ।
पूर्वमन्त्री समेत रहेका पोखरेलले सत्तारुढ गठबन्धनको संयुक्त बैठकबाट महोत्तरी चारवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन अघि रहेको तथ्याङ्क समेत प्रस्तुत गरिएको जानकारी दिए ।
बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसी प्रसाद ढुङ्गाना, लोसपाका रामबाबु साह र नेकपा एकिकृत समाजवादीका कोसीलाल यादव सहभागि थिए ।