महोत्तरी : सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आम रुपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न लागेको छ । बर्दिबास-२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि यस भेगका सर्वसाधारणमा अब आफ्नै ठाउँमा भरपर्दो गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो । बर्दिबास अस्पतालले बुधबारमात्रै अब विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थप्दै अब २६ वटा सेवालाई नियमितता दिने घोषणा गरेको छ ।

अस्पतालले जनरल ओपीडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिदै आएको थियो । यी सेवामा पनि जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो । अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग , शल्यक्रिया , नवजात शिशु स्याहार, दाँत, मुख तथा गिंजासम्बन्धी समस्या, ल्याब , एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा र भर्ना सेवासहितको सुविधा विस्तार गरेपछि यस भेगका सर्वसाधारणमा आफ्नै ठाउँमा उपचार पाउने नयाँ भरोसा जागेको हो । अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर-किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, परामर्श तथा प्रेषण सेवा र होल बडी चेकअप (सम्पूणर् शरीरको जाँच) सेवासहितका सुविधा बढाएर नियमित गरिने जनाएको छ ।

“अस्पतालले बुधबार थालेका नयाँ सेवा र त्यसलाई गुणस्तरीय र नियमित बनाइने प्रतिबद्धताले अब गरिब र निमुखाले पनि अत्यावश्यक स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाउँछन् भन्ने आश जगाएको छ” अस्पताल नजिककै बुद्धचोककै बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता उमेश आचार्य भन्नुहुन्छ, “यी सेवाले नियमितता पाउनसके यस भेगमै स्वास्थ्यक्षेत्रमा निकै सुधार आउने छ ।”

अस्पतालले जनमुखि स्वास्थ्य सेवा, भौतिक व्यवस्थापन र दक्ष जनशक्तिको पहुँच अझ बढाउँदै लगिने जनाएको छ । “हामीलाई स्थानीयतह (बर्दिबास नगरपालिका), अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ छ, प्रभावकारी स्वास्थ्य सेवा प्रवाहप्रति हामी प्रतिबद्ध छौं” अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णा महर्जन भन्नुहुन्छ, “ठिक ठाउँमा उपचार लिन पुगेछौं भन्ने अनुभूति दिनेगरी बिरामीको हेरचाह हुनेछ ।”

अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ । “सानातिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहनेछैन” बर्दिबास-२ की पवित्रा खड्का भन्नुहुन्छ, “सुत्केरी हुने, गराउने बेला मँहगा निजी अस्पतालमा पुग्नु नपरे पनि निकै ठूलो राहत हुनेछ ।”

अस्पतालले घोषणा गरेर प्रारम्भ गरेको सेवाले यो ठाउँ अब बर्दिबास नगरक्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला , सर्लाहीका इश्वरपुर एबम् लालबन्दी एबम् सिन्धुलीका कमलामाई तथा दुधौली नगरपालिका सम्मका सेवाग्राहीका लागि भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरिएको छ । धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दुधौली बर्दिबास नगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका नगरपालिका हुन् । पछिल्ला केही वर्षयता सरकारी अस्पतालका सेवा प्रभावकारी र भरपर्दो हुन नसकेपछि निजी अस्पतालले यस भेगमा उपचारका नाउँमा मच्चाउँदै आएका ब्रह्मलुट अब अन्त्य हुने आश बढेको बर्दिबास-१४ का रामनरेश महतो बताउनुहुन्छ ।

“पोहोर साल छोरीलाई सुत्केरी व्यथा लागेपछि नजिकको एउटा निजी अस्पताल पुर्‍याएँ, अस्पतालभित्र छिराउनासाथ ‘ल अप्रेशन गर्नुपर्छ, तपाइँ पैसाको व्यवस्थामा लाग्नोस्’ पो भने” महतोले आफैंले भोगेको व्यथा सुनाउँदै भन्नुभयो, “झटपट छोरीलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएँ, उनले सामान्य अवस्थामा बच्चा जन्माइन् , अब यहीं (बर्दिबासमैं) यो सेवा भएपछि टाढाका अस्पताल जानु पर्ने अवस्था नपर्ने र ठूलो खर्चको मारमा नपर्ने ठानेका छौं ।” यसअघि स्वास्थ्य बिमा गरेका सेवाग्राहीले पनि निजी अस्पतालमा गएर लामो समयसम्म ‘लाइन’ मा बस्नु परेको पुरानो अवस्था अब अन्त्य हुने आश सँगालेका छन् ।

bardibas_hospital_nepalvani (1)

अस्पतालमा थप सेवा प्रवाहका लागि पछिल्ला दिनमा स्थानीय सरकार (बर्दिबास नगरपालिका) ले लिएको पहलकदमीको अहिले सर्वसाधारणले सराहना गरेका छन् । “खै सात/आठ महिना बिते, के गर्लान् र यिनले पनि भन्ने लाग्दै थियो, तर भित्रभित्रै राम्रो तयारीमा लागेका रहेछन् अहिलेका जनप्रतिनिधि, यिनले अस्पताल व्यवस्थित हुने आश जगाए” बर्दिबास-९ पशुपतिनगरका ३० वर्षीय युवा सुरेन्द्रकुमार सिंहले भन्नुभयो । निर्वाचित भएदेखि नै आम नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्ने बताउँदै आउनु भएका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले अस्पतालमा देखाउनुभएको तदारुखताले केही हुन्छ भन्ने आश जगाएको सर्वसाधारणको भनाइ छ ।

बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ । स्वास्थ्य सुविधा बढाइएसँगै अस्पतालको माथिल्लो तलामा पनि आवश्यकताअनुसार कोठाहरू थप्दै लगिएको छ । चार तले अस्पताल भवनमा यसअघि ५२ कोठा थिए । अब सेवा विस्तारसँगै केही कोठा थपिदैछन् । सेवा प्रवाह, भौतिक र दक्ष जनशक्ति व्यवस्थापनको काम सन्तुलनमा गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ । जम्मा ५० शैयाको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत ८३ जना कार्यरत रहेका मेडिकल सुपरिटेण्डेण्ट डा. महर्जनको भनाइ छ । पछिल्लो चरणमा बर्दिबास नगरपालिकाले ३३ जना दक्ष जनशक्ति थप गरेपछि अहिले अस्पतालमा बिरामीले चिकित्सक र स्वास्थ्यकर्मीको राम्रो वास्ता पाउने अवस्था बनेको आम ठम्याइ छ ।

“हामी आम जनताले अनुभूति पाउने गरी सबैक्षेत्रका कामलाई व्यवस्थित गर्न लागी परेका छौं, अहिले लामो तयारीपछि अस्पतालबाट यो अनुभूति दिइँदैछ” नगर प्रमुख क्षत्री भन्नुहुन्छ, “हामी आफ्ना कामलाई अरुका लागि पनि उदाहरणीय प्रेरणादायी हुने गरी व्यवस्थित गर्छौं ।” अब सबैले देख्ने गरी एकपछि अर्को कामका सकारात्मक नतिजा फटाफट आउने क्षत्रीको थप भनाइ छ ।

नेपाल सरकारको २०६४ सालको निणर्यले स्थापित यो अस्पताल समय क्रमसँगै भौतिक संशाधन, दक्षजनशक्ति र सेवा प्रवाहमा पनि उम्दा बनेपछि यस भेगमा अहिले खुशी छाएको छ । आम जनताले आफ्नै ठाउँमा राम्रो उपचार पाउने आश सँगालेका छन् ।

२०७९ माघ ६, शुक्रबार १९:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय