
जनकपुरधाम: मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी पाएसँगै पदभार ग्रहण गरेका छन् ।
बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेका सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशको गौरव आयोजनाको रुपमा रहेको मधेस लोकमार्ग र पछिल्लो प्रदेश सरकारको समयमा भएका कामहरुको समिक्षाका साथै बाँकी रहेका अन्य योजनाहरुको विषयमा आगामी योजना बनाएर अघि बढ्ने मन्त्री यादवको भनाई छ ।
त्यस्तै जनमत पार्टीबाट बसन्त कुशवाहाले असन्तुष्टी जनाउँदै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गरेका छन् । उनले मुख्यमन्त्रीले भने अनुसारको मन्त्रालयको जिम्मेवारी नदिएपनि जनता र किसानको अति नै महत्वपूर्णको रुपमा कृषि मन्त्रालय पाउँदा खुसी व्यक्त गरेका थिए । उनले पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर गर्ने जनाएका छन् । किसान आन्दोलन गर्दै आएका जनमत पार्टीले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको बताउँछन् । किसानलाई कार्ड वितरण गर्ने योजना रहेको उनले बताए ।
मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रीको जिम्मेवारी जसपा नेपालका नेता संजयकुमार यादव, भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहालाई दिए लगत्तै उनीहरुले पदभार ग्रहण गरेका छन् ।