
सिरहा : सिरहामा एउटा यस्तो फूल छ, जुन वर्षमा एकपटक वैशाख १ गते मात्र फुल्छ। सुन्दा अचम्म लाग्नसक्छ तर यो सत्य हो। सिरहाको पडारिया चोकदेखि दक्षिण रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेसको फूलबारीमा यस्तै फूल देख्न पाइन्छ।
नयाँ वर्षका दिन देश-विदेशमा रहेका नेपाली एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्छन्। यहीबीच प्रकृतिले पनि एक प्रकारको रहस्यमयी फूलका माध्यमले हामी सबै नेपालीलाई शुभकामना दिने गर्छ।
सलहेस फूलबारीका नाामले प्रसिद्ध सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छन् र साँझपख आफैँ ओइलाएर जान्छ।
सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको ‘गहबर’ (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख ओइलाएर जानु आजसम्म रहस्य नै बनेको छ।
माला आकारको सेतो फुलको थुङ्गाजस्तो देखिन्छ र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ। त्यो रुख यति प्राचीन भए पनि कसरी बाँचेको छ, त्यो पनि अनुसन्धानको विषय बनेको छ। वनस्पतिविद्हरूका अनुसार त्यो रुख छैटाैँ वा सातौँ शताब्दीतिरको हो।
सलहेस र मालिनीको प्रेमको प्रतिक
राजा सलहेस मिथिलाको दुसाध जातिका लोकदेवता हुन्। राजा सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एकपटक मात्र फुल्ने फूलसँग सम्बन्ध रहेको किंवदन्ती छ।
छैटाैँ शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो। त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ। त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट जयवर्द्धन (सलहेस) को जन्म भएको थियो।
सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो। बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुवा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तरतर्फ) का राजा हिन्दुपति शमशेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे।
भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गढपति बने। सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठन विस्तार गरे।
पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने युवतीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम बसेको किंवदन्ती छ। मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक दिन फूल टिप्न सो फूलबारी आउने गर्थिन्। मालिनी नै सलहेसको यादमा नयाँ वर्षका दिन प्रत्येक वर्ष सो फूलबारी आउँछिन् भन्ने जनविश्वास छ। त्यसैले फूलबारीलाई राजा सलहेस र मालिनीबीचको प्रेमको प्रतिकका रुपमा लिने गरिन्छ।
राजा सलहेस दलित समुदायमा पर्ने दुसाध जातिका भएकाले अहिले पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन्, त्यहाँ-त्यहाँ सलहेसको गहवर बनाई देउताका रुपमा पूजा गर्ने परम्परा छ।
लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम-दक्षिणमा १२ बिगाहमा फैलिएको धार्मिक फूलबारीमा हारमको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखापर्छ र दिन ढल्दै जाँदा उक्त माला विस्तारै ओइलाएर जान्छ। अचम्मको उक्त फूल हेर्न भारतबाट समेत श्रद्धालु आउने र मेला भर्ने गर्दछन्।
किंवदन्तीका अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन्। साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ। मेलाको दिन धेरै युवक-युवती ती फूललाई साक्षी मानी प्रेम विवाहसमेत गर्ने गर्छन्।