
काठमाण्डौ : एक घटनाका कारण ठ्याक्कै एक वर्ष जेल जीवन विताएर फर्किएका चर्चित अभिनेता तथा मोडल पल शाहलाई यतिबेला म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । १५/२० दिनको अवधिमा उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । जेलबाट छुटेपछि पलको पहिलो म्यूजिक भिडियो उनी आफैं निर्देशित ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सन चाँडै सार्वजनिक हुँदैछ ।
बिहीबार पलले उक्त गीतको पोस्टर सार्वजनिक गरेका छन्, जसमा उनी मोडल सुनिशा भट्टराईसँग देखिएका छन् । तर, पोस्टरमा आँखा विझाउने कुरा भनेको पलले लगाएको नक्कली कपाल (विग) हो । जेलमा रहँदा काटेको कपाल उनको खासै बढेको छैन । केही म्यूजिक भिडियो उनले छोटो कपालमा नै गरेका छन् । तर, आफू निर्देशित भिडियोमा उनले नक्कली कपाल लगाएका छन् ।
नयाँ लुक्समा प्रस्तुत हुन उनले नक्कली कपालको सहारा लिएका हुन सक्छन् । तर, उनको कपाल नक्कली हो भन्ने सजिलै बुझिन्छ । अब गीतको भिडियोमा कति बुझाउँछ, त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । सम्भवतः उनले विग लगाएर पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका हुन् । प्रायः लामो कपाल पाल्न रुचाउने उनले फिल्ममा पनि नक्कली कपाल लगाएर काम गरेका छैनन् ।
जेलबाट छुटेपछि पलले म्यूजिक भिडियोलाई मात्र प्राथमिकता दिइरहेका छन् । उनले नयाँ फिल्म सम्झौता गरेका छैनन् । यद्यपि, उनले जेल जानुभन्दा अगाडि ‘सत्यम्’, ‘ओ सजन’, यश कुमारको फिल्म साइन गरेका थिए । अब उनले यिनै फिल्म पहिला गर्छन् वा नयाँ सम्झौता गर्छन्, त्यो चासोको विषय बनेको छ । अहिले उनले फिल्मका लागि ४० लाख पारिश्रमिक माग्ने गरेको बताइन्छ ।