बर्दिबास : दक्षजनशक्तिको अभावमा कार्यालयबाट सम्पादन हुनपर्ने काम असरल्ल छन् । नजिकमै दक्षजनशक्ति छन् । तर जनशक्ति उत्पादन गर्ने संस्था र रोजगारदाता संस्थाबीच समन्वयको अभावले कतै कामको चाप छभने दक्षजनशक्ति काम नपाएर भौतारिएको अवस्था छ । आज शुक्रबार महोत्तरीको बर्दिबासमा सम्पन्न एक कार्यक्रममा सरोकारवालाहरुको यस्तो निष्कर्ष बनेको हो ।

“मेरो शिक्षालयमा प्राविधिक धारको सिभिल इञ्जिनियरिङ्गको तीन वर्षे डिप्लोमा कोर्षको पठनपाठन र अभ्यास हुँदै आएको छ , निर्माण कार्यका लागि चाहिने दक्ष जनशक्ति छ”काठमाण्डौं विश्वविद्यालय स्कूल अफ एजुकेसनले आज बर्दिबासमा आयोजना गरेको ‘शिक्षा र श्रमबजारबीच समन्वयः प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभिइटी) सरोकारवालासँगको छलफल’ कार्यक्रममा बर्दिबास-६ किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक विद्यालय चौलिखाका प्रधानाध्यापक कुमार घिमिरेले भन्नुभयो, “तर यहीं हाम्रै बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा आवश्यक सङ्ख्याका प्राविधिक (इञ्जिनियर, ओभरसियर) नहुँदा काम असरल्ल छन् ।” आपूmले नगर नेतृत्वसँग जनशक्ति परिचालन गर्न अनुरोध गरेपनि काम अघि नबढेको घिमिरेको भनाइ छ ।

बर्दिबास नगरक्षेत्रभित्रै प्राविधिक धारको दक्ष जनशक्ति उत्पादन गर्ने १० शिक्षालय छन् । सर्वे (नापी), वन, सिभिल इञ्जिनियरिङ्ग, बालीविज्ञान, पशुविज्ञान र अटोमोवाइलजस्ता जताततै काम लाग्ने विषयको डिप्लोमा तहको पठनपाठन र अभ्यास भइरहेका छन् । तर यहींकै बिभिन्न कार्यालय र रोजगारदाता सङ्घ, संस्था र ब्यापारिक प्रतिष्ठानमा यस्तै जनशक्तिको अभावले काम असरल्ल देखिएका बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताउनुभयो ।

बर्दिबास नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, बर्दिबास उद्योग वाणिज्य सङ्घआबद्ध उद्यमी र प्राविधिक धारका व्यावसायिक शिक्षाको पठनपाठन र अभ्यास गराउँदै आएका शिक्षालयका विषयविज्ञ सम्मिलित कार्यक्रममा दक्ष जनशक्ति व्यवस्थापनमा राज्यका नीतिनियम व्यवहारमुखि हुन नसकेका आम सहभागीको गुनासो थियो ।

काठमाण्डौ विश्वविद्यालयका विज्ञ डा. दुर्गाप्रसाद बराल, प्रकाशकुमार पौड्याल र मेनुका सङ्ग्रौलाले प्राविधिक शिक्षा र श्रमबजारबीच समुचित समन्वयबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का मधेश प्रदेश उपप्रमुख सञ्जयकुमार यादव, निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास-११ खयरमाराका प्रमुख सहप्राध्यापक रमण मेहतासहितका विज्ञले स्थानीय शिक्षालयमा उत्पादित दक्ष जनशक्तिको व्यवस्थापनमा सम्बद्ध स्थानीयतह र अन्य रोजगारदाता कम्पनीहरुबीच आपसी सहकार्य बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८० बैशाख २९, शुक्रबार १९:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय