कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ। उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको पढाउँछिन्।

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन्, प्रेमा। साइकलमा ओहोरदोहोर गर्ने उनलाई दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ।

‘वर्षौदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौं, यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, उनले भनिन्, ‘प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु।’

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ। दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने उहाँ शुल्क तिर्ने गर्छन्। दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उनी बताउँछन्।

स्थानीय काठे पुल प्रयोग गरेवापत साइकलको १० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क तिर्छन्। लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो।

दिनभर काठे पुल कुर्ने उनस् नदी ओहोरदोहोर गर्नेबाट शुल्क संकलन गरेर जीविकोपार्जन गर्दै आएका छन्। उनले भने, ‘दिनमा दुई सय भन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्। यहीबाट घर चलेको छ।’

सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ। उक्त पुलको टेको मक्किएका छन् । वर्षौंदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय।

‘वर्षौं भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ । काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला?,’ स्थानीय सेमलाल रानाले भन्छन्।

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ। बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ।

उनी भन्छन्, ‘बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन । सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ।”

२०८० जेष्ठ २, मंगलवार ११:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय