महोत्तरी : अहिले महोत्तरीको सदरमुकाम जलेश्वर नगरक्षेत्र देवी भजनले गुञ्जायमान छ । प्रत्येक पाँच वर्षमा आयोजना हुने देवी संसारीमाईको महापूजाको तयारीले जलेश्वर नगरको चहकदहक बढेको छ । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी, पापनासक र नगर संरक्षक मानिने देवी संसारीमाईको पाँच/पाँच वर्षमा हुने महापूजा तयारीमा नगरका जनजन परिचालित भएका देखिदा छन् । यही जेठ २६ गते शुक्रबार असार कृष्ण षष्ठी तिथिका दिन हुने महापूजाको विधिवत शुभारम्भ यही आउने शुक्रबार सुरु हुँदैछ ।

परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रुपमा मानिदै आइएको जलेश्वर नगरबासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेव मन्दिरको सम्मुख वरुण सर (सरोवर, तलाउ) डिलमा संसारीमाईको मन्दिर छ । संसारीमाई देवी दुर्गाकी अवतार र पसिद्ध शक्तिपिठका रुपमा वणर्ित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर-८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउनुहुन्छ ।

यसपालि यही आउने शुक्रबार (जेठ १९ गते) देखि विधिवत महापूजाको विधि थालिने श्री संसारीमाई महापूजा व्यवस्थापन समिति-२०८० ले जनाएको छ । आउने शुक्रबारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत गीता र चण्डी पाठ सुरु गरिने समितिका अध्यक्ष अशोककुमार साहले जानकारी दिनुभयो । यसबीचमा जलेश्वर नगरपालिका र नगरभित्रका बिभिन्न सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा दैनिक सरसफाई, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुहरुको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम भइरहेको समितिले जनाएको छ । महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित देखिदाछन् ।

महापूजाको अवसरमा देवी संसारीमाईको दर्शन र पूजाआराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाहरुको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउनुहुन्छ । “महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिन थालेका छन् , हेर्नुहोला, १०/२० पाहना नभएका जलेश्वरमा कुनै घर हुने छैनन्” अध्यक्ष साह भन्नुहुन्छ, “यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या कम्तीमा पनि डेउढाले बढ्नेछ ।”

महापूजाको तयारीमा नगरभरि धमाधम स्वागतद्वार, पण्डाल निर्माणदेखि रङ्गीविरङ्गी धजा गाडिदैछन् । सीमापारी भारतका मधुवनी र सीतामढी जिल्लासँगको जलेश्वर नगरको सीमा छुट्टिने दशगजा वारी भारतीय पाहुनालाई स्वागत गरिन तोरण टाँगिदैछन् । महापूजा उत्सवमा लाखौं भारतीय सहभागी हुने तयारीमा रहेका सूचना पाइरहिएको महापूजा व्यवस्थापन समितिले जनाएको छ ।

धेरैअघि १२/१२ र त्यसपछि सात/सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच/पाँच वर्षमा आयोजन गरिन थालिएको हो । पछिपछि नगर समाजमा चाँडचाँडै बिभिन्न अनिष्ट हुन थालेपछि त्यसको निवारणका लागि श्री संसारीमाईको महापूजा अघि सारिदै अहिले पाँच/पाँच वर्षमा आइपुगेको जलेश्वर-१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउनुहुन्छ ।

श्री संसारीमाईको महापूजा यहाँ विशेष नगरउत्सव रहँदै आएको जलेश्वर नगरप्रमुख सुरेश साहको भनाइ छ । “महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि” नगरप्रमुख साह भन्नुहुन्छ, “हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागीपरेका छौं ।”

श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चवलिबाट आराधना गरिन्छ । यसअवसरमा नगरका घरघरैजसोबाट पशुवलि (बोका) दिइन्छ । पाँच वर्ष बीचमा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै वलि दिइन पर्ने साँस्कृतिक मान्यता रहँदै आएको छ । महापूजा आस्थासँग जोडिएको पक्ष भएपनि यससँगै जोडेर दिइने पशुवलिको परम्पराभने परिमार्जित गरिनपर्ने पशुअधिकारकर्मीले बताउन थालेका छन् । पशुवलिको साटो नरिवल, फलपूmल र शृङ्गारादि सामग्री चढाएर देवीको भक्तिभाव गर्न सकिने पशुअधिकारकर्मीहरुको सुझाव छ ।

२०८० जेष्ठ १६, मंगलवार ०७:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय