बर्दिबास : महोत्तरीको चुरे काछको बस्तीका महिलामा आङ्खस्ने र पाठेघर समस्या बोक्दै आएका महिला बाक्लै भेटिएका छन् । बर्दिबास-४ माइस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना गरेको दुई दिने स्वास्थ्य शिबिरको जाँचबाट ४०० महिलामा आङ्खस्ने र पाठेघर समस्या पाइएको हो ।

बिहीबार र शुक्रबारगरी दुई दिन सञ्चालित शिबिरमा ७५८ जना महिलाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ४०० जनाको आङ्खस्ने र पाठेघरको मुखको क्यान्सर र यसको रोकथामबारे (ख्ऋत्) जाँच गरिएको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ । यीमध्ये १९ जनाको पाठेघरको शल्यकृया नै गरिने र आङ् खस्ने समस्याका १५ जनालाई रिङ्ग लगाइने जाँचमा संलग्न महिला रोग विशेषज्ञ डा. डा. दिपक शाहलाई उद्धृत गर्दै रेडक्रस उपशाखा बर्दिबासका सभापति रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिनुभयो । चिकित्सकको सिफारिसअनुसार बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराइएको छ ।

रेडक्रस उपशाखाले शिबिरका लागि बर्दिबास नगरपालिका क्षेत्रको भित्रीबस्ती चुरेकाछ नजिक चयन गरेको हो । नगरपालिका भनिएपनि चुरेकाछका बासिन्दा स्वास्थ्य जाँच र उपचारको अवसर हम्मेसी नपाउने हुँदा शिबिरका लागि यो ठाउँ चयन गरिएको रेडक्रस उपशाखा सभापति कार्कीको भनाइ छ ।

“मधेश प्रदेशमा भएपनि चुरेकाछका बस्तीहरु पाहाडी परम्परा र चलनका छन्, यहाँका महिलाको जीवन डोको/नाम्लो, घाँस/दाउरा र घरको बुहार्तनमा बित्छ” कार्कीले भन्नुभयो, “त्यसैले स्वास्थ्य जाँच र उपचारको अवसर कम हुने काछक्षेत्रमा शिबिर राखिएको हो ।” तामाङ, मगरसहितका जनजाति र कामी, सार्की र दमाईजस्ता दलित समुदायको बसोबास बाहुल्यताको चुरे काछतिर महिलाले सहरीक्षेत्रभन्दा निकै बढी गर्भधारण गर्ने र बच्चा जन्माउने पाइएको र यस्ता महिलामा आङखस्ने र पाठेघरसम्बन्धी समस्या बढी हुने सम्भावना रहने कार्कीको भनाइ छ ।

शिबिरमा जाँचपछि औषधी सिफारस गरिएका बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको छ । त्यसैगरी रिङ् लगाउन र शल्यकृया पनि सुविधायुक्त अस्पतालमा एक साताभित्रै निशुल्क उपलब्ध गराइने रेडक्रस उपशाखाले जनाएको छ ।

मुख्यतः महिलाका लागि पाठेघर मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ् खस्ने रोगको प्रतिरोधात्मक उपचार, पाठेघर जाँच, थर्मोकुलस सेवा, फिस्टुलाको शल्यकृया र भिडियो एक्सरेसहितका जाँच सेवाका लागि महिला केन्द्रित शिबिर आयोजना भएको हो । शिबिरमा आँखा जाँच र उपचार सेवा पनि सञ्चालन गरियो ।

कामीडाँडा माध्यमिक विद्यालय परिसरमा सम्पन्न शिबिरमा विद्यालयका ३१० छात्रछात्राको आँखासहित बिभिन्न जाँच र ४१० सर्वसाधारणको आँखा जाँच र उपचार गरिएको आँखा विशेषज्ञ डा. दिना ठाकुरले बताउनुभयो । जाँच गराएका छात्रछात्रामध्ये १२ जनालाई चश्मा उपलब्ध गराइएको छ । त्यसैगरी आँखा जाँच गराएका सर्वसाधारणमध्ये २७ जनाको मोििबन्दूको शल्यकृया गरिने डा. ठाकुरले जानकारी दिनुभयो ।

शिबिरमा बाल स्वास्थ्य र आँखा जाँच तथा उपचार बालरोग विशेषज्ञ डा. अनिल शाह र आँखा विशेषज्ञ डा. दिना ठाकुर नेतृत्वको चिकित्सक टोलीले गरेको हो । त्यसैगरी तयारी शिबिरको रहेको कार्कीको भनाइ छ ।

चुरेकाछका भित्री बस्तीमा शिबिर सञ्चालन भएपछि यसअघि स्वास्थ्य जाँचको अवसर नपाएका महिला उल्लेख्य सङ्ख्यामा पुगेका छन् । पहिलो दिन मध्यान्हपूर्वनै जाँचका लागि ३५० जनाले नाम दर्ता गराएका छन् । त्यसैगरी यसबेलासम्म ४०० बालबालिकाले आँखा र अन्य स्वास्थ्य जाँचका लागि नाम दर्ता गराएका कार्कीले बताउनुभयो ।

महिलातर्फको जाँच र उपचार वरिष्ठ महिला विशेषज्ञ डा. दिपक साह र डा. कैलाश मण्डल, वरिष्ठ रेडियोलोजिष्ट डा. अजय यादव र दक्ष स्वास्थ्यकर्मी (नर्स, अहेब)सहितको १८ सदस्यीय चिकित्सक टोलीले गरेको हो ।

शिबिर सञ्चालनमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर , आर्थिक सहयोग बर्दिबास नगरपालिका र अन्य व्यवस्थापकीय सहयोग बर्दिबास हेल्प फाउण्डेसन, रोटरी क्लव अफ बर्दिबास र कामीडाँडा मावि परिवारबाट प्राप्त भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

२०८० जेष्ठ २०, शनिबार ०८:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय