
बर्दिबास : महोत्तरीको सुदुर उत्तरी क्षेत्रमा आँखाका बिरामी बाक्लै भेटिएका छन् । बर्दिबास नगरपालिकाको सहयोगमा बर्दिबास आँखा अस्पतालले सञ्चालन गरेको अन्धोपन न्यूनिकरण कार्यक्रमअन्तर्गतको सम्पन्न भएका आँखा जाँच शिबिरमा यो समस्याका बिरामी बाक्लै भेटिएका हुन् ।
बर्दिबास नगरक्षेत्रका चारओटा बस्तीमा सञ्चालित शिबिरमा दुई हजार ८०८ जनाको जाँच भएको छ । बर्दिबास-३ कालापानी, बर्दिबास-४ माइस्थान, बर्दिबास-९ पशुपतिनगर र बर्दिबास-१० खयरमारामा शिबिर सम्पन्न भएका हुन् । आँखा जाँच गरिएमध्ये एक हजार ३३६ जनालाई औषधी खानपर्ने, २३७ जनाले चश्मा लगाउन पर्ने र ७३ जनाको मोतिबिन्दूको शल्यकृया गरिनु पर्ने पाइएको वरिष्ठ आँखा चिकित्सक डा. दिना ठाकुरले जानकारी दिनुभयो ।
शिबिरमा औषधी र चश्मा दिन ठहर्याइएका बिरामीलाई तत्कालै ती सामग्री निःशुल्क उपलब्ध गराइएको छ । शल्यकृया भने ७३ जनाको भोलि शनिबार बर्दिबास आँखा अस्पतालमा गरिने अस्पताल सञ्चालक मुकुन्दप्रसाद पौडेलले बताउनुभयो । शल्यकृया पनि निःशुल्क गरिने पौडेलले स्पष्ट पार्नुभयो ।
आँखामा स्वास्थ्य समस्या धेरैजसो सन्तुलित खानपानको अभावमै हुने गरेको चिकित्सकको ठम्याइ छ । खानामा हरियो सागसब्जी, पँहेला फलपूmल र अन्य पौष्टिक आहारको सन्तुलन नमिल्दा गरिब बस्तीमा आँखाका बिरामी बाक्लै भेटिएका डा. ठाकुरको भनाइ छ ।
अस्पतालले बर्दिबास नगरपालिकाका १४ वडामध्ये अहिले चारओटामा मात्र शिबिर सम्पन्न गरेको छ । यी चार बस्तीमा भेटिएका बिरामीकै हाराहारीमा अन्य बस्तीमा पनि आँखाको समस्या बाक्लै पाइने चिकित्सकको अड्कल छ । यसअघिका जाँचमा वयस्क र पाका उमेरका व्यक्तिमा आँखाको समस्या पाइने गरेको थियो । तर यसपालि १४ वर्ष मुनिका बालबालिकामा पनि आँखाका गम्भीर प्रकृतिका समस्या पाइएको डा. ठाकुर बताउनुहुन्छ । नानीहरुमा आँखाको समस्या चाँहि मोवाइल एकाग्र भएर हेर्ने लतले पनि बढेको हुनसक्ने डा. ठाकुरको भनाइ छ ।