बर्दिबास : एक अर्बमाथिको अनुमानित बजेट प्रस्तुत गर्ने बर्दिबास नगरपालिका महोत्तरीको हालसम्मको पहिलो स्थानीयतह बनेको छ ।

आज आइतबार आयोजित १२ औं नगरसभामा नगर प्रमुख प्रह्लादकुमार क्षत्रीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि एक (१) अर्ब पाँच (५) करोड १९ लाख १८ हजारको अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । जिल्लाका १५ स्थानीयतहमध्ये आआफ्नो तहको गाउँ/नगरसभामा प्रस्तुत यो सबैभन्दा ठूलो आकारको बजेट हो ।

प्रस्तुत बजेटमा बिभिन्न शिर्षकमा गरी सङ्घीय सरकारबाट ७९ करोड ३२ लाख ७५ हजार, मधेश प्रदेश सरकारबाट चार करोड २२ लाख ४३ हजार र आन्तरिक आयबाट ११ करोड ६४ लाख वार्षिक आय हुने अनुमान गरिएको छ । त्यसैगरी चालु आव २०७९/०८० बाट बचत भई नयाँ (आगामी ) आवमा १० करोड मौजदात रकम थपिने विनियोजन बजेटमा उल्लेख छ ।

बर्दिबास नगरपालिकाले १२ औं नगरसभामा आगामी आवका योजना प्राथमिकीकरण गरेको छ । नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा क्रमशः स्वास्थ्य, शिक्षा, खानेपानी र कृषि तथा सिंचाइ कार्यक्रम परेका छन् । नीति तथा कार्यक्रममा नगरस्थित बर्दिबास अस्पतालको सेवा बढाउँदै यस भेगकै नमुना अस्पताल बनाइने उल्लेख छ । यसैगरी क्रमशः सडक यातायात, ढल व्यवस्थापन, नदी प्रणाली व्यवस्थापन, प्रकोप, संस्कृति तथा पर्यटन प्रबद्र्धन, सूचना प्रविधिको विकास र सुशासनको प्रत्याभूति, नीति निर्माण तथा कार्यान्वयन , रोजगारी प्रबद्र्धन, सरसफाई तथा फोहर व्यवस्थापन एबं वातावरण स्वच्छता अभियान, खेलकुद र लागुऔषध दुव्र्यशनविरुद्धका योजना छन् ।

प्रस्तुत नीति तथा कार्यक्रम एबं बजेटमा स्वास्थ्यसँगै जोडिएको बर्दिबास मेडिकल कलेजका लागि जग्गा प्राप्ति र यसको सुनिश्चितताका लागि वृक्षारोपण र सम्भार आगामी आवको पहिलो दायित्व रहने उल्लेख छ । स्वास्थ्य शिर्षकमै बर्दिबास अस्पतालको स्तरोन्नति र नगरका सबै जेष्ठ नागरिक (६० वर्षमाथि) र अपाङ्गता भएका हरुलाई नियमित स्वास्थ्य जाँचका लागि मासिक तालिकाअनुसार घुम्ती स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख छ ।

यसैगरी प्रस्तुत नीति तथा कार्यक्रम एबं बजेटमा नगरलाई मधेश प्रदेशकै शैक्षिक केन्द्रका रुपमा विकास गरिने उल्लेख छ । खासमा यो अभियानसँग जोडेर प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रबद्र्धन गरिने जनाइएको छ ।

२०८० असार १०, आईतवार २०:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय