महोत्तरी : समाजमा नराम्ररी घर जमाउँदै आएको दाइजोप्रथा, बालविवाह र अनमेल विवाहजस्ता कुरिति जरैदेखि निर्मूल गर्ने महोत्तरीको मटिहानी नगरपालिकाले प्रतिबद्धता जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रम एबं विनियोजित बजेट मन्तव्यमा नगर प्रमुख हरिप्रसाद मण्डलले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नगरको ११ औं नगरसभाको यो सङ्कल्पअनुसार सामाजिक क्षेत्रका सुधारात्मक कामलाई परिणाममुखी बनाइने नीति तथा कार्यक्रमको प्रतिबद्धता छ ।

“हामीकहाँ अनमेल विवाह त फाट्टफुट्टमात्र देखिएका छन् , तर दाइजोप्रथा र बालविवाहले नराम्ररी जरा गाडेको छ” मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “अब हामीले दाइजोप्रथा र बालविवाहलाई पुरै निर्मूल गर्नेगरी अभियान बढाएका छौं ।” यी चलन अन्त्यका लागि छोरी शिक्षा, सामाजिक सचेतना, दण्ड/पुरस्कारको व्यवस्था र रोजगारी सिर्जनामा जोड दिइएको नगर प्रमुख मण्डलको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को प्रारम्भसँगै नगरक्षेत्रका प्रत्येक बस्तीका घरघरमा वैवाहिक अवस्थाको विवरण सङ्कलन गरिदा हालसम्म ८०० बढी यस्ता घटना भएका पाइएको छ । यो अवस्था अन्त्य गर्न छोरी शिक्षालाई पहिलो प्राथमिकतामा राखी यहींकै विद्यालय र कलेज (क्याम्पस) मा उच्च शिक्षासम्मको सुनिश्चितता गरिने नगर प्रमुख मण्डलको भनाइ छ । नगर कार्यपालिकाको कार्यालयले बालविवाह निष्तेज गर्न उमेर पुगेर (२० वर्ष कटाएर) छोराछोरीको विवाह गर्ने अभिभावकलाई सार्वजनिक सम्मान गर्दै आएको छ । जारी आवकै हालसम्मको अवधिमा यस्ता ४१ अभिभावक सम्मानित भएका छन् । यसैगरी दाइजोरहित विवाह गर्ने जोडि र अभिभावकलाई पनि सम्मानित गरिने नगरप्रमुख मण्डलको भनाइ छ ।

नगरपालिकाले बालविवाह अन्त्य र दाइजोप्रथाविरुद्ध सामाजिक, शैक्षिक र साँस्कृतिक जागरण अभियान सञ्चालन गरिने जनाएको छ । यस अभियानमा धर्मपरम्पराभित्रका हिन्दू तथा इस्लाम धर्म परम्पराका पण्डित/पुरोहित र मोल्वीलाई जोड्दै आइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मटिहानी नगरले सामाजिक कुरितिविरुद्ध सङ्गठित र योजनाबद्ध काम थालेपछि यसको सकारात्मक असर जिल्लाका अन्य गाउँ/नगर बस्तीमा पनि पर्ने बुद्धिजीवी बताउँछन् ।

२०८० असार १०, आईतवार २०:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय