मटिहानी : मखान खेतीका किसान आफ्नै नगरपालिकाको साथ सहयोगले उत्साहित भएका छन् । यो खेतीको उर्वर थलो महोत्तरीको मटिहानी नगरपालिकाका किसान मखानकोे बजारीकरणमा सहयोग पुग्ने सामग्री सहयोगमा पाएपछि उत्साहित भएका हुन् ।

नगरपालिकाले किसानलाई मखान टिपेर थुप्य्राउन चाहिने त्रिपाल, बोरा, हातेझोला, बोरा सिइने मसिनलगायतका सामग्री प्रदान गरेपछि किसानमा उत्साह थपिएको हो ।

“लाग्थ्यो, हाम्रो हण्डर देख्ने कोही छैनन् , तर नगरप्रमुख हरिप्रसाद मण्डलले हामीलाई बोलाएर मखान बजार पुर्‍याउन चाहिने सामान दिनुभयो” मखान किसान मुसाफिर सहनी भन्नुहुन्छ, “अब हाम्रो काम पनि हेर्ने कोही रहेछन् भन्ने लागेको छ ।” नगर कार्यपालिकाको कार्यालयले १०० मखान किसानलाई शनिबार बजारीकरणका सहयोगी सामग्रीसहितको ‘मखान झोला’ प्रदान गरेको हो ।

गहिरो पोखरीको पानीमा गरिने मखान खेती मटिहानीको मुख्य नगदेवाली रहँदै आएको छ । अत्यन्त पौष्टिक र धार्मिक कार्यमा अपरिहार्य मानिने यो खेती मटिहानीका ३० ओटा पोखरीमा हुँदै आएको नगर कार्यपालिकाको कार्यालयका कृषि शाखाका प्रमुख टङ्कप्रसाद उपाध्याय बताउनुहुन्छ ।

मटिहानीका वडानम्बर-६, ७ र ८ का ठूलठूला पोखरीमा यो खेती हुँदै आएको छ । पानीमा डुबेर काम गर्न पारङ्गत मलाह (सहनी) समुदाय बढी यो खेतीमा छन् । मधेशको मिथिलाक्षेत्रमा अतिथि सत्कारदेखि धार्मिक कार्यमा मखानले ठाउँ पाउँदै आएको छ । वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठानका विधिमै मखान अपरिहार्य मानिएपछि यो खेतीको बजार राम्रो रहेको मटिहानी-७ का वडाअध्यक्ष जितनारायण माझी बताउनुहुन्छ ।

खासगरी दीपावलि, छठ र कोजाग्रत पूणर्िमामा त मखान मुख्य प्रसाद र अतिथि सत्कारको खाद्य बस्तु मानिन्छ । पानी मनि जरामा फल्ने फलमात्र नभएर मखानको पात पनि उपयोगी हुने गरेको छ । ठूलठूला भोजमा खाना ख्वाउन मखानको पातको टपरी अत्यन्त पवित्र मानिने हिन्दू मैथिल परम्परा छ ।

जिल्लाका मटिहानीबाहेकका पोखरी निकै रहेका जलेश्वर, मनराशिवा, महोत्तरी, रामगोपालपुर र एकडारासहितका स्थानीयतहमा यसको खेती हुँदै आएको छ । यो खेतीलाई व्यवसायिक रुपमै प्रबद्र्धन गर्नसके ‘महोत्तरीको मखान’ भनेर ‘ब्राण्डिङ्ग’ नै गर्नसकिने मटिहानीका मखान किसान राजाराम सहनी बताउनुहुन्छ । यसका लागि स्थानीयतह र कृषिसम्बद्ध निकायको निरन्तर साथ चाहिने मखान किसान बताउँछन् ।

२०८० असार १७, आईतवार १०:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय