बर्दिबास : अब महोत्तरीको बर्दिबास नगरक्षेत्रका बिरामीले उपचारमा आवश्यक पर्ने रगत सेवा शुल्करहित पाउने भएका छन् ।
बिरामीले नेपाल रेडक्रस सोसाइटी , रक्त सञ्चार केन्द्र बर्दिबासबाट रगत लिदा दिनुपर्ने सेवा शुल्क बर्दिबास नगरपालिकाले व्यहोर्ने घोषणा गरेपछि नयाँ आर्थिक वर्ष २०८०/०८१ को प्रारम्भसँगै यो व्यवस्था सुरु भएको छ । नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले हिजो सोमबार साँझ नयाँ आर्थिक वर्ष सुरु भएकै दिन बर्दिबास-४ वरडाँडा अटाबेका ५२ वर्षीय बिरामी कृष्णबहादुर माझीलाई सेवा शुल्करहित रगत उपलब्ध गराउँदै यो व्यवस्थाको सुरुआत गर्नुभयो ।

बर्दिबास-३ गौरीडाँडास्थित नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले रगत माग भएका बिरामीबाट रक्त सङ्कलन, भण्डारण, सुरक्षण, कार्य सामग्री थैला, रगतको ल्याव परीक्षण र रक्त मिलान परीक्षण (क्रस म्याच) वापतको एक पोका रगतवापत एक हजार ४०० सेवा शुल्क लिदै आएको छ । बिरामीलाई सहुलियत र राहत दिन बर्दिबास नगरपालिकाले नयाँ आर्थिक वर्ष २०८०/०८१ प्रारम्भसँगै यो रकम व्यहोर्ने गत नगरसभाको निणर्यअनुसार हिजोदेखि नै यो सेवा दिन थालेको हो ।

अस्पताल, स्वास्थ्य उपचार केन्द्रले रगत माग गरेका बिरामीको पुर्जाअनुसार सेवा शुल्क बर्दिबास नगरपालिकाले व्यहोर्ने पत्र आपूmहरुलाई प्राप्त भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको गत असार १० गते सम्पन्न १२ औं नगरसभाले बिरामीलाई दिन थालेको सेवा शुल्करहित रगत सेवाले अति विपन्न वर्गलाई निकै राहत हुने रेडक्रस उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ बताउनुहुन्छ ।

यसअघि रेडक्रस बर्दिबास उपशाखाले अति विपन्न र जटिल रोगको उपचार गराइरहेका बिरामीलाई विपन्न रक्त सहायता कोषमार्फत सेवा शुल्करहित रगत उपलब्ध गराउँदै आएको थियो । यस्तो सेवा लिने बर्दिबास र गौशाला नगरक्षेत्रका गरी नौ जना बिरामी रहेका कार्कीले जानकारी दिनुभयो । मिर्गौलाको नियमित डायलसिस गराइ रहेका, थाइलेसिमिया, ब्लडक्यान्सर (रक्त क्यान्सर) , एनिमियाँ, एनिमिक, गम्भीर प्रकृतिको हाड सर्जरी र आन्द्रा फुटेर दीर्घ उपचार गराइरहेका बिरामीलाई महिनैपिच्छे चाहिने रगत कोषले सेवा शुल्क व्यहोरेर बिरामीलाई उपलब्ध गराउँदै आएको रेडक्रस उपशाखाले जनाएको छ ।

अब कोषबाट पाउने सेवा जहाँसुकैका जटिल प्रकृतिका विपन्न बिरामीले पाउने भएपनि नगरले उपलब्ध गराएको सेवा शुल्करहित रगत बर्दिबास नगरक्षेत्रका बिरामीले मात्र पाउनेछन् । बर्दिबास अस्पतालबाट सरदर महिनामा ४०० पोका (थैला, पिण्ट) रगत माग हुँदै आएमध्ये १०० को हाराहारीका बर्दिबास नगरक्षेत्रका हुने गरेका सभापति कार्कीको भनाइ छ । नगरले थालेको यो सेवा सानो प्रकृतिको देखिएपनि स्वास्थ्य उपचारसँग सम्बन्धित भएको हुँदा निकै महत्वपूणर् भएको बर्दिबासबासीको प्रतिकृया छ ।

यसैबीच नगरप्रमुख क्षत्रीले बर्दिबास अस्पतालको सेवा भरपर्दो र गुणस्तरीय बनाउन , अस्पतालको स्तरोन्नति गर्न , उपचार सेवा विस्तार गर्न र बिरामीलाई सहुलियत बढाउँदै लान आपूm मिंही तवरले काममा लागेको बताउनु भएको छ । ‘बर्दिबास अस्पताल पुगेपछि उपचार हुन्छ’ भन्ने आम जनतामा विश्वास जगाउनु मुख्य पक्ष रहेको क्षत्रीको भनाइ छ ।

नयाँ आर्थिक वर्षको प्रारम्भसँगै बर्दिबास नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि निरन्तर घुम्ती जाँच सेवा सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाको संयोजनमा बर्दिबास अस्पताल र नगर क्षेत्रका स्वास्थ्य संस्थाको दक्ष जनशक्ति परिचालित गरी बस्तीबस्तीमा यो सेवा पुर्‍याइने जनाइएको छ । यो सेवा ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई दिइने नगरप्रमुख क्षत्रीले स्पष्ट पार्नुभयो । नगरपालिकाले बर्दिबास अस्पतालमा प्रसुती सेवा लिने महिलालाई निशुल्क एम्बुलेन्स सेवा नयाँ वर्ष (१ वैशाख) प्रारम्भसँगै दिदै आएको छ ।

२०८० श्रावण २, मंगलवार ०९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय