महोत्तरी : धार्मिक नगरी जलेश्वरको अब ‘हरित नगरी’ नयाँ परिचय थपिने भएको छ । जिल्ला सदरमुकामसमेत रहेको यो नगरक्षेत्रलाई ‘हरित नगरी’ बनाइने योजनाका साथ काम थालिएको नगरप्रमुख सुरेश साह सोनारले बताउनु भएको हो ।

“हामी नगरक्षेत्रलाई हराभरा र स्वच्छ बनाउने अभियानमा जुटेका छौं” नगरप्रमुख साह भन्नुहुन्छ, “यसक्रममा यसपालि शरद ऋतु सुरु हुनपूर्व नै एक लाख २० हजार नयाँ बिरुवा रोपण गर्दैछौं ।” प्रत्येक बिरुवाको संरक्षणको जिम्मेवारीसहित थालिएको यो अभियानको पहिलो चरणमा मुख्य बजारक्षेत्रमा अहिले धमाधम बिरुवा रोपण भइरहेको उहाँले जानकारी दिनुभयो ।

“बजार क्षेत्रमा प्रत्येक पसल अगाडि सम्बद्ध ब्यापारीले एउटा बिरुवा हुर्काउनै पर्ने जिम्मेवारी दिएका छौं, बिरुवा, तारजालीको घेराबार, मलिलो माटो र अन्य मलजलको प्रबन्ध नगरपालिकाले गरेको छ” साहले भन्नुभयो, “बिरुवाको नियमित देखभाल र संरक्षणको जिम्मेवारी चाँहि ब्यापारीले गर्नपर्छ ।” आफ्नो अगाडिको बिरुवा कुनै कारणले सर्ननसके ब्यापारीले वडा कार्यालयमा जानकारी दिई अर्को बिरुवा लिनसक्ने व्यवस्था छ । तर अटेर गरी बिरुवा मरेमा सम्बद्ध ब्यापारी जिम्मेवार हुने र जरिवाना गरिने साहले स्पष्ट पार्नुभयो ।

अहिले नगरको मुख्य बजारक्षेत्रका सडक किनारमा सम्बद्ध ब्यापारीकै सरिकतामा धमाधम बिरुवा रोपण जारी छ । यसअभियानअन्तर्गत तलाउका डिल, मठमन्दिर परिसर, चौतारा नजिकका सार्वजनिक जग्गा, कार्यालय परिसर , धर्मशाला र विद्यालयक्षेत्रभित्र अभियानकै रुपमा बिरुवा रोपण भइरहेको छ ।

नगरपालिकाका १२ वडा बस्तीका सबै सडक किनार , सार्वजनिकस्थल र धार्मिक महत्वका तलाउ नजिक सम्बद्ध वडा कार्यालयको संयोजनमा बिरुवा रोपण थालिने स्वीकृत तालिका छ । नगरको मुख्य सडक क्षेत्र भिठ्ठामोर-जलेश्वर-जनकपुर सडकमा तीन वर्षअघि रोपिएका बिरुवा राम्ररी हुर्केका छन् । ती पहिले रोपिएका बिरुवाको पनि संरक्षणको जिम्मेवारी त्यतिखेरै दिइएको थियो ।

अहिलेको अभियानमा गोल्डमोर, रोयलपाम, बोतलपाम, रुद्राक्ष, चम्पा र चाँपपूmलसहितका बिरुवा रोपिदैछन् । यसपालि वर्षा ऋतुभित्र सबै वडाले १०/१० हजार बिरुवा रोपण गर्ने र तिनको संरक्षणको जिम्मेवारीको स्पष्ट व्यवस्था गरिने तयारीसाथ अभियान बढाइएको नगर कार्यपालिकाको कार्यालयले स्पष्ट पारेको छ ।

२०८० श्रावण ३, बुधबार १२:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय