महोत्तरी : साउन महिनाको छ (६) गते आयो कि महोत्तरीको जलेश्वर नगरपालिका-५ चौरिया बस्तीका ८० वर्षीय हरिहर साहको मन अझै ढक्क फुल्छ । पञ्चायतकालमा २०४० साल साउन ६ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता विश्वेश्वरप्रसाद कोइराला (बिपी कोइराला) को प्रथम वार्षिकीमा आफ्नै बस्तीको सार्वजनिक चउरमा वृक्षारोपण गर्दा प्रहरी आएर लखेटेको साहलाई भर्खरकै घटना झैं लाग्दैछ ।

“हामी बिपीको प्रथम वार्षिकीमा वृक्षारोपण गर्दै थियौं, एक्कासी प्रहरी आएर सिठी बजाउँदै लाठी बजार्न लागे” आजभन्दा ४० वर्ष पहिलेको घटना सम्झदै साहले भन्नुभयो, “नजिकै दशगजा नाघेर हामी भारत पुग्यौं ।” नेपाल भारत सीमासँगै जोडिएको चौरिया बस्तीको चउरमा रोपिएको पिपल पनि अब ४० वर्षको भएको साहले हिसाब लेखा लगाउँदै बताउनुभयो ।

“अहिले हामीले खोजेको चाहेको जस्तै बहुदलीय प्रजातान्त्रिक व्यवस्था छ” साह भन्नुहुन्छ, “यसबाट के के पाइयो, म लेखा लाउन सक्दिन , तर हामीले पञ्चायत ढाल्ने मनसुवाले रोपेको पिपलको शीतल छहारी भने पाएका छौं ।” त्यतिखेर बिरुवा रोप्दा अन्य जातका रोपिए पञ्चले दख्खल गर्लान् भन्ने छलफलले नै पिपल छानिएको साहको भनाइ छ । “हामीले ठिक गरेछौं पिपल रोपेर , अहिले यी पिपलका रुख बस्तीभरिका सबैका लागि शीतल छहारी बनेका छन्” डबरी र पूर्नी पोखरी डिलका छ ओटा वयस्क घना छहारीयुक्त पिपल देखाउँदै साहले भन्नुभयो ।

जलेश्वर नगरपालिकामा गाभिनअघि पर्सापतैली गाविस (पञ्चायतकालमा पर्सापतैली गाउँपञ्चायत) को एउटा वडा बस्ती चौरिया जिल्लाभरि नै पञ्चायत विरोधी आन्दोलनको संयोजन गर्ने ठाउँ थियो । तत्कालीन नेपाली काँग्रेसका नेता गणेश नेपाली सबैका साझा नेता हुनुहुन्थ्यो । “नेपालीजीले नै हामीलाई पञ्चायतविरुद्ध लाग्न प्रेरणा दिनुभयो” चौरियाकी ७५ वर्षीया रामपरीदेवी कापर पुराना कुरा सम्झदै भन्नुहुन्छ, “हामी आपसी अभिवादनको शिष्टाचार आदानप्रदान ‘जयनेपाल’ बाट गथ्र्यौ, जुन चौरियामा हालसम्म निर्वाह हुँदै आएको छ ।” पञ्चायतकालमा ‘काँग्रेस गाउँ’ भनेर चिनिने चौरिया कालान्तरमा बिभिन्न पार्टीको आधारक्षेत्र भनिदै/मानिदै आइए पनि आफ्नो बस्तीको एकअर्कोप्रति जनाइने शिष्टाचार भने अझै ‘जयनेपाल’ नै रहेको कापर बताउनुहुन्छ । ‘जयनेपाल’को शिष्टाचार सिकाउने नेपालीजी (स्व. गणेश नेपाली) नै पछि काँग्रेस छाडेर एमाले हुँदै मधेश केन्द्रित दल तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध हुनुभयो । तर आफ्नो बस्तीमा एकआपसमा र यहाँ आउने जोसुकै पाहुनालाई भने चौरियाबासी अहिलेपनि ‘जयनेपाल’ कै शिष्टाचारबाट स्वागत अभिवादन गरीरहेका कापर सगर्व बताउनुहुन्छ ।

अहिले नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेश नेपालीको नेतृत्वमा पञ्चायतकालमा जननेता बिपी कोइरालाका नाउँमा रोपिएका पिपल घना छहारीदार मात्र हैन, चौरिया बस्ती आफ्नै पुछारको डबरी र पूर्नी पोखरी माझमा स्व. नेपालीकै स्मृतिमा निर्मित उद्यान (पार्क) ले मनोरम बनेको छ । दुबै पोखरी डिलबीचको ०-७-१० (सात कठ्ठा १० धुर) जग्गामा मधेश प्रदेश सरकारको सहयोगमा ‘स्वर्गीय गणेश नेपाली स्मृति उद्यान (पार्क)’ निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ । उद्यान परिसरभित्र पिपल, समी र अशोकका छायाँदार रुखमा चौतारा छन् । जननेता बिपी कोइरालाका स्मृतिमा पञ्चायतकालमा रोपिएका यी वृक्ष (रुख) ले सधैं प्रजातान्त्रिक आदर्शप्रति अविचल रुपमा उभिइ रहन प्रेरित गरीरहेका स्व. नेपालीका राजनीतिक सहकर्मी सो बस्तीकै ६५ वर्षीया सरस्वती कापर बताउनुहुन्छ ।

“हामीलाई स्व. नेपालीले आन्दोलनमा जोड्नुभयो, अहिले उहाँको स्मृति सधैं जिवन्त रहनेगरी उद्यान निर्माण अन्तिम चरणमा छ” कापर भन्नुहुन्छ, “स्व. नेपालीको शालिकसहितको यो उद्यानले एकसाथ उहाँ र जननेता बिपी कोइरालालाई सम्झाउँदै प्रजातान्त्रिक आदर्शप्रति समर्पित रहन प्रेरित गरीरहन्छ ।”

उद्यानमा हिन्दू परम्पराका देवता सङ्कटमोचन महावीर (हनुमान) मन्दिर , परिसरभित्रका रुखमा झिलिमिली बत्ती जडान, परिसरभित्र सङ्खमरमर , सधैं हरियो रहने दुबो , तीन/तीन जना आरामले बस्न मिल्ने २५ ओटा सिमेण्ट वेञ्च र आकर्षक मञ्चले यो ठाउँ खास बनेको चौरिया बस्तीकै ७० वर्षीय ठकन चौधरी बताउनुहुन्छ । उद्यान परिसर चारैतिरबाट पक्की पर्खालले घेरिदा यो चीरकालसम्म सुरक्षित रहने चौरियाबासीले आश सँगालेका छन् ।

उद्यान निर्माणसँगै जोडेर डबरी र पूर्नी पोखरीबाट सिंचाइका लागि पानी भण्डारण र निस्कासनको प्रबन्धसँगै यहाँका किसानले सहुलियत पाउने भएका छन् । उद्यान परिसरसम्म सडकले जोडेपछि यो एक मनोरम पर्यटकीयस्थलका रुपमा विकास गर्ने जलेश्वर-५ का वडाअध्यक्ष कृष्णमोहन शर्मा बताउनुहुन्छ । यो उद्यानले प्रजातान्त्रिक आन्दोलनमा स्व. नेपालीको योगदानलाई सम्झेको उहाँकी राजनीतिक सहकर्मी तथा जीवनसँगिनी दानादेवी नेपालीको धारणा छ ।

उद्यान निर्माणको कार्य करिब स्वीकृत इष्टिमेटअनुसार सम्पन्न भएको स्व. गणेश नेपाली स्मृति उद्यान निर्माण समितिका अध्यक्ष मदन कापरले जानकारी दिनुभयो । “स्वीकृत प्रस्तावअनुसारको काम करिब सम्पन्न भएको छ” अध्यक्ष कापर भन्नुहुन्छ, “अब बिपी कोइरालाको जन्मजयन्ति (भदौ-२४), स्व. नेपालीको जन्मजयन्ति (असोज ९ गते) वा स्व. नेपालीको स्मृति दिवस (कुशे आंैशी)को अवसर पारेर नेपालीको शालिक अनावरण गरेपछि काम सम्पन्न हुनेछ ।” यो स्मृति उद्यान निर्माणका लागि मधेश प्रदेश सरकारबाट ६५ लाख रकम प्राप्त भएको अध्यक्ष कापरले जानकारी दिनुभयो ।

अहिले निर्मित स्मृति उद्यानलाई चौरियाबासी आफ्नो बस्तीलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडेर मुल्याङ्कन गर्छन् । “यो जननेता स्व. बिपी कोइराला, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेश नेपालीसँगै हाम्रो बस्तीको पनि सम्मान हो”उद्यान परिसरभित्रको महावीर मन्दिरका पुजारीसमेत रहनु भएका ६० वर्षीय रत्नेश चौधरी भन्नुहुन्छ, “यो मधेश प्रदेश सरकारको सदासयतालाई चौरियाले सधैं सम्झी रहने छ ।”

प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेश नेपाली २०४६ सालको ऐतिहासिक जनआन्दोलनताका नेपाली काँग्रेस महोत्तरीको सभापतिका हैसियतमा जिल्लाभरि संयुक्त जनआन्दोलनको मुख्य संयोजक हुनुहुन्थ्यो । “हाम्रो बस्ती सधैं पञ्चायतकालमा पञ्च र प्रहरी प्रशासनको तारो रह्यो” नेपालीकै प्रेरणाले त्यतिखेर प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका ७० वर्षीय रहिमन मण्डल सम्झनुहुन्छ, “नजिकमा बोर्डर (नेपाल भारत सीमा) नभए पिस्कर (सिन्धुपाल्चोक) झैं हामी पिसिन्थ्यौ होला, तर यो बोर्डर हाम्रो आन्दोलनमा सहयोगी बन्यो ।” समय अनुकूल हुँदा बस्तीबस्ती पसेर पञ्चायतविरुद्ध जनमत बनाउने र अलि प्रतिकूल हुनासाथ बच्दै आन्दोलन बढाउन भारत पस्ने त्यतिखेर काँग्रेस/कम्युनिष्टका लागि आमकुरा हुने गरेको मण्डल सम्झनुहुन्छ । अहिले निर्मित स्मृति उद्यान बस्तीभरिकै बासिन्दाका लागि प्रातः(बिहान) र सायंकालीन (साँझ) को योग, ध्यान, अध्ययन र शीतल ताप्ने गन्तव्य बनेको मण्डल बताउनुहुन्छ ।

चौरिया बस्तीमा पञ्चायतकालमा बिपी स्मृतिमा रोपिएका पिपल र पछि थपिएका , समी र अशोकका रुखले दिने शीतलतालाई यहाँका बासिन्दा प्रजातन्त्रको शीतल छहारीको संज्ञा पनि दिन्छन् । “हाम्रा सामाजिक, साँस्कृतिक र धार्मिक परम्पराका थुप्रै पर्व छन्” चौरियाको प्रजातान्त्रिक आन्दोलनलाई नजिकबाट नियाल्नु भएका स्व. नेपालीका समवयी ८० वर्षीय अवकासप्राप्त शिक्षक रामपदारथ चौधरी भन्नुहुन्छ, “हाम्रो बस्तीका सन्दर्भमा प्रत्येक साउन-६ समर्पण, सङ्कल्प र प्रजातान्त्रिक निष्ठाप्रति आपूmलाई उभ्याइरहने पर्व रहँदै आएको छ ।” प्रत्येक साउन-६ मा आफ्नो बस्तीमा वीर बिपीः जिन्दावाद, गणेश नेपाली ः अमर रहुन्का नारासँगै जसले जहाँ सम्भव छ (आफ्नै वा सार्वजनिक जग्गा) , कमसेकम एउटा नयाँ रुख रोप्ने संस्कृति नै बसेको चौधरी बताउनुहुन्छ ।

२०८० श्रावण ६, शनिबार १९:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय