महोत्तरी : श्री राम माध्यमिक विद्यालय मटिहानी-८ महोत्तरीको ११ कक्षाकी छात्रा नेहा मण्डलले नयाँ साइकल पाएपछि दङ्ग पर्दै साथीहरुसँगै समूहमा ‘सेल्फी’ खिच्दै खुशी बाड्नुभयो । आइतबार नयाँ साइकल पाएको खुशी साथीहरुसँगै नेहाले ‘सेल्फी’ खिच्दा उहाँका साथीहरु निक्की पूर्वे र भाग्यवती मण्डलले हातका दुई औंला सोझ्याउँदै ‘पोज’ दिनुभयो । अरु साथी पनि खुशीमा साथ उभिए । साइकलको साथले अब विद्यालय आउजाउ धेरै सजिलो भएको छात्राहरुको भनाइ छ ।

“हाम्रो विद्यालय आउजाउमात्र हैन, यो साइकल धेरै काममा साथी हुनेछ” नेहा भन्नुहुन्छ, “यसले समय व्यवस्थापनसँगै कामलाई छरितो सम्पादनमा सहयोग गर्नेछ ।” विद्यालय समयभन्दा बाहेकका साँझ बिहान घरमा हाटबजार वा अन्य जरुरीमा बाबाआमाले अराउने काममा पनि साइकलले सजिलो बनाउने नेहासहितका साइकल पाउने छात्राको भनाइ छ । आइतबार श्री राम मावि मटिहानीका ११ कक्षामा पढ्ने ७७ जना छात्राले साइकल पाएका छन् ।

“अब घरको कामकाजमा लाग्दा थोरै अबेर भए म दौडिनु पर्ने छैन, साइकल दौडन्छ”अर्की छात्रा निक्की पूर्वे भन्नुहुन्छ, “अब म हम्मेसी विद्यालयमा गयल हुन पर्ने छैन ।” साइकलले आउजाउमा सहजता बढाएको मात्र नभइ पढाइमा लाग्न थप प्रेरणा पनि दिएको पूर्वेको भनाइ छ ।

उच्च शिक्षामा छोरीको पहुँच बढाउन कक्षा-११ का छात्रालाई साधन र शैक्षिक सामग्रीमा सबल बनाइन साइकल उपलब्ध गराइन थालिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । “त्यसैपनि शिक्षामा छोरीको पहुँच कम छ, त्यसमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) जेनतेन सकेपछि त विद्यालयमा छोरीको सङ्ख्या स्वात्तै घटेको देखियो” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यो अवस्था चिर्न हामीले पछिल्ला चार वर्षयता ११ कक्षाका छात्रालाई साइकल दिन थालेका हौं ।” मटिहानी नगरक्षेत्रका माध्यमिक विद्यालय (कक्षा-११, १२ पठनपाठन हुँदै आएका) मा कक्षा ११ मा नाउँ लेखाएर नियमित आउजाउ गरीरहेका जुनसुकै ठाउँमा स्थायी बसोबास भएका छात्रालाई नगरपालिकाले यो सुविधा दिदै आएको मण्डलको भनाइ छ । छात्रालाई साइकल आउजाउका लागि मात्र नभई छोरी पढाउन पर्छ भन्ने सामाजिक अभियानसँग जोडिएको मण्डल बताउनुहुन्छ ।

“मुख्य चाहिं मटिहानीबाहिरका छात्रा जो टाढाबाट यहाँको विद्यालय आउँछन् , उनीहरुको विद्यालय आउजाउ सहज बनाउन यो कार्यक्रमले सघाउ पुर्‍याएको छ” मण्डल भन्नुहुन्छ, “जहाँसुकैका छोरी पढ्नसके त्यसले समाजको अग्रगतिमा मद्दत नै पुर्‍याउँछ , हामीले साइकलमार्फत छोरी शिक्षाको विगुल घरघर पुर्‍याउन चाहेका हौं ।” साइकल प्रदान कार्यक्रमले छात्रा , अभिभावक र समाजमै सकारात्मक चासो बढेको मण्डल बताउनुहुन्छ ।

मटिहानी-८ स्थित श्री राम माविमा मटिहानीबाहेक जलेश्वर नगरपालिका , धनुषाको तुलसियाही र , मुखियापट्टी मुसर्नियाँसम्मका विद्यार्थी आउने गरेका छन् । यिनमा छात्रा बर्सेनि बढ्दै आएका विद्यालय प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि थालिएको कक्षा ११ का छात्राका लागिको यो कार्यक्रमको सकारात्मक प्रभाव बढेको छ । बर्सेनि कक्षा ११ मा छात्रा भर्ना त्यसयता बढ्दै गएको श्री राम मावि मटिहानीका प्रधानाध्यापक श्रीश कुमार मिश्र बताउनुहुन्छ । “पहिलो वर्ष शैक्षिकसत्र २०७७ मा ३५ छात्रा थिए, तिनले साइकल पाए, त्यसयता बर्सेनि छात्रा सङ्ख्या बढ्दै अहिले ७७ पुगेको छ” प्रधानाध्यापक मिश्र भन्नुहुन्छ , “यो आकर्षण साइकलसहित शैक्षिक सामग्री पाइने भएर र मटिहानी नगर कार्यपालिकाको बालविवाह निरुत्साहन कार्यक्रमले बढाएको छ ।” कक्षा ११ मा भर्ना हुने सङ्ख्यामात्र नभएर अध्ययन अभिरुची, विद्यालयका अतिरिक्त कृयाकलापमा पनि छात्रा सहभागिता बढ्दै गएको मिश्रको भनाइ छ । पछिल्लो आइतबारसमेत विद्यालयमा चार वर्षमा ११ कक्षाका २०० छात्राले साइकल पाइसकेका छन् ।

पछिल्लो पटक मटिहानी नगर कार्यपालिकाको कार्यालयले उमेर नपुगी गरिने विवाह (२० वर्ष नपुगी गरिने बालविवाह) निरुत्साहित गर्न विशेष कार्यक्रम सुरु गरेको छ । खासमा उमेर नपुग्दै विवाह गर्ने आम चलनले छोरीहरुको उच्च शिक्षाको पहुँचलाई रोक्ने हुँदा अहिले नगर कार्यपालिका कार्यालयले उमेर पुगेपछिमात्र छोरी विवाह गर्ने अभिभावकलाई सार्वजनिक सम्मान दिने गरेको छ । पछिल्ला छ महिनाभित्र ५० जना यस्ता अभिभावक सम्मानित भइसकेका छन् । यसले छोरीहरुको उच्च शिक्षा (एसइई माथि) पहुँचमा सघाउ पुर्‍याएको नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख चन्देश्वर साह बताउनुहुन्छ ।

मटिहानी नगरपालिकामा पाँच माध्यमिक र सात आधारभूत गरी १२ सामुदायिक विद्यालय छन् । पाँच माविमध्ये राजकीय संस्कृत माध्यमिक विद्यालय र श्री राम माविमा कक्षा-११, १२ पठनपाठन हुँदै आएको छ । श्रीराम माविमा मटिहानीबाहिरका छात्राको सङ्ख्या बढ्दै गएको हुँदा उनीहरुलाई थप उत्प्रेरित गराउन यो कार्यक्रम थालिएको साहको भनाइ छ ।

आफ्ना नानीहरुले साइकल पाएपछि उनीहरुको पढाइप्रति अभिभावकले पनि सकारात्मक चासो बढाएका छन् । समयसमयमा गरिने शैक्षिक सामग्रीको भरथेग र पछिल्ला चार वर्षयताको साइकल कार्यक्रमले छोरीहरु विद्यालय जानमात्र नभइ घरमै पनि पढाइमा मेहनत गर्न लागेका मटिहानी-८ का मोहम्मद इसराफूल बताउनुहुन्छ ।

Bycycle Paepachhi Nagar Pramukh Hari pd. Mandal Sang Chhatraharu

 

२०८० श्रावण २२, सोमबार १०:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय