रोशन कुमार महतो,
बर्दिवास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा रहेको जनमुखी अधारभूत विद्यालय रुपान्तरणका लागि युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको विद्यालय सुधार अभियानको घोषणा गरेका छन् ।
विद्यालय प्रशासन तथा व्यवस्थान समितिको अनुरोधमा पत्रकार महतोले वडा अध्यक्ष घुरन महतोको उपस्थितिमा विद्यालय रुपान्तरणका लागि एक समारोहका बिच अभियानको घोषणा गरेका हुन् ।
सामुदायिक विद्यालयलाई नमूना बनाउनका लागि विद्यालयमा चौतारा, वालउद्यान, गार्डेन, विद्यालय भवन, विद्यालयका भौतिक संरचना मर्मत सम्भार लगायतका कामहरु गर्नका लागि सरोकारवालासंग पहल गर्दै योजनाबद्ध निर्माणका कामहरु अघि बढाइने अभियन्ता महतोले जनाएका छन् ।
विद्यालयलाई बालमैत्री तथा प्राकृतिकमैत्री बनाउँदै गुणस्तर शिक्षामा जोड दिनु अभियानको मुख्य मर्म रहेको छ । यस अघि पत्रकार राजकरण महतोको योजनामा जनसहयोगी युवा सञ्जाल बर्दिबासको सक्रियतामा राष्ट्रिय मा.वि. पशुपतिनाथ बनरझुल्लामा तीन वर्ष अघि थालिएको बालउद्यान निर्माण तथा विद्यालय सुधार अभियानले मुर्त आकार ग्रहण गरिसकेको छ ।
जनमुखी अधारभूत विद्यालयमा कक्षा ५ पास भएपछि ६ देखि १२ कक्षासम्म पढ्नका लागि मा.वि. पशुपतिनाथ बनरझुल्लामा आउने गरेको छ ।
आज बुधबार विद्यालयमा चौतारा निर्माणका लागि शिलान्याससंगै हरित स्कूल निर्माणका लागि बिरुवा रोपिएको छ । वडा अध्यक्ष घुरन महतो, वडा सदस्य महेन्द्र महतो, पत्रकार राजकरण महतो, पत्रकार अमृत कुमार महतो लगायतले संयुक्त रुपमा चौताराको शिलान्यास गरेका थिए । त्यसैगरि विद्यालय परिषरमा धुपीका विरुवाहरु पनि रोपिएको थियो ।
सरकारी विद्यालयको शिक्षामा गुणस्तर नहुँदा अभिभावकहरुको आकर्षण नीजि विद्यालय प्रति बढेकोले जनमुखी अधारभूत विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । विद्यालय व्यवस्थान समितिमा स्थानीय युवा रामेएकवाल महतोको टिमलाई अभिभावकले निर्वाचित गराएपछि निरन्तरको पहलले अहिले ९० जना विद्यार्थीको संख्या पुगेको छ । यो टिम आउनु भन्दा पहिला विद्यालयमा १२ जना मात्रै विद्यार्थी रहेको शिक्षक संजित कुमार महतोले बताए ।
विद्यालयका प्रधानाध्यापक धवेन्द्र महतोले कक्षा कोठाको अभावमा पठनपाठन सञ्चालन गर्न समस्या भइरहेको बताए । उनका अनुसार भएका कक्षा कोठाको छाना चुहिएर शिक्षण क्रियाकला सञ्चालन गर्न समस्या भइरहेको सुनाए । बढ्दो गर्मि भएपनि कक्षा कोठामा पंखा नहुँदा बालबालिकाहरुलाई अध्ययन गर्न समस्या भइरहेको उनले दुःखेसो पोखे ।
पत्रकार राजकरण महतोले सामुदायिक विद्यालय रुपान्तरणका लागि अभिभावक, शिक्षाक, विद्यालय व्यवस्थान समिति, स्थानीय सरकारले बिशेषरुपमा जिम्मेवारीका साथ काम गर्नु पर्नेमा जोड दिए । उनले विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित, हेरचाह तथा निगरानीका लागि टोल टोला आमा शिक्षा सहयोग समिति गठन गरेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।
पत्रकार महतोले विद्यालय निर्माणका लागि श्रोतसाधन, श्रम तथा विचारले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । पत्रकार महतोले चौतारा निर्माणका लागि २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरि स्थानीय युवा मनोज महतोले विद्यालयलाई ५ वटा पंखा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
समारोहमा बोल्दै वडा अध्यक्ष घुरन महतोले वडा कार्यालयको तर्फबाट ५ वटा पंखा, बालकक्षामा एलइडी जडान तुरुन्त गर्ने बताएका छन् । यसै आर्थिक वर्षमा चार कोठाको सुविधा सम्पन्न भवन निर्माण गर्न पहल गरिने बताए । साथै उनले चाडै कक्षा कोठाको छोनो फर्नेका लागि ३ लाख बजेट विनियोजन गरिसकेको र चाडै काम सुरु हुने वडा अध्यक्ष महतोले बताए ।
विद्यालयमा निर्माण थालिएको चौताराका लागि कूल एक लाख बजेट लाग्ने अनुमान गरिएको थियो । विद्यालयमा आयोजित अभियान घोषण तथा चौतारा शिल्यान्यास समारोहमा अभिभावक, विद्यालय व्यवस्थान समितिका सदस्य, शिक्षक, सञ्चारकर्मी लगायतका दर्जनौ दाताहरुले ५० हजार बढीको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।