कार्यकर्तालाई जनताको घरदैलोमा जान अध्यक्ष ठाकुरको निर्देशन
बर्दिबास : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा जिउँदै रहेका बताउनु भएको छ । आज सोमबार महोत्तरीको बर्दिबासमा सम्पन्न लोसपाको मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले पार्टी स्थापनाकालका ती मुद्दा जनतामाझ पुर्याउन पर्ने उल्लेख गर्नुभयो । लोसपाका प्रत्येक नेता कार्यकर्तालाई आफ्ना मुद्दा जनसमक्ष पुर्याउन अध्यक्ष ठाकुरले निर्देशन दिनुभयो ।
“हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका वलमा स्थापित भएका छन्” अध्यक्ष ठाकुरले भन्नुभयो, “यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।” अझै मधेश आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ता मुद्दा खेपी रहेका उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धी र अझै लड्नु पर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नु पर्ने उल्लेख गर्नुभयो ।
आज सोमबार बर्दिबासमा सम्पन्न बैठकमा पार्टीका शिर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहितको उपस्थिति रह्योे । मधेश प्रदेश समितिको विस्तारित बैठकको मुख्य छलफलको विषय नै मधेश मुद्दा र मधेशमा दलको रणनीति बनाइन रहेको दलका प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिनुभयो ।
“हामी प्राप्त सफलता/असफलताको मिंही तवरले विश्लेषण गरेर अघि बढ्दैछौं” अध्यक्ष सोनल भन्नुहुन्छ, “यसक्रममा कामका दौरान भएका कमजोरी पहिचान गर्दै मधेश मुद्दालाई सुक्ष्म तवरले केलाउँदै आन्दोलनलाई थप उचाइमा पुर्याइने कार्यभार बनाएका छौं ।” बैठकले अब सम्बोधन हुन बाँकी मधेशका मुद्दालाई फेरि जनतासँग जोडेर अघि बढ्ने दृढता जनाएको अध्यक्ष सोनलको भनाइ छ ।
पहिलो सम्बिधानसभा निर्वाचन (२०६४) अघि मुलुकका बिभिन्न मूलधारका दलबाट विद्रोह गर्दै महन्थ ठाकुर, महेन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाललगायतका नेताले मधेश आन्दोलनको जगमा तराई मधेश ला्कतान्त्रिक पार्टी (तमलोपा) गठन गर्नु भएको थियो । समयक्रममा बिभिन्न ठाउँमा जुट्दै फुट्दै त्यतिखेरको तमलोपाका मूल नेताहरु अहिले लोसपामा हुनुहुन्छ ।
विक्रम सम्वत् २०६४ मा निकै रापताप देखिएको तमलोपाका अधिकांश नेता अहिले लोसपामा भएपनि यो दल पछिल्ला निर्वाचनमा खुम्चिदै गएको छ । यद्यपि पछिल्ला निर्वाचन परिणाम स्वच्छ जनमतको नतिजाभन्दा पनि बिभिन्न गठबन्धन र आफ्नो दलविरुद्धका प्रचार चिर्न नसक्दा बनेको बैठकका सहभागी महोत्तरीको मटिहानीका ७० वर्षीय कुशेश्वर यादव बताउनुहुन्छ ।
“ठिक छ, जेजति कमजोरी भएका छन् , तिनलाई आत्मसाथ गरेर अघि बढिन्छ”बैठकका सहभागी मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “मुद्दा मरेका छैनन् , तिनलाई पुनरभाषित भने गर्नु पर्ने हुन्छ ।”
विस्तारित बैठकमा मधेश प्रदेश समितिआबद्ध पदाधिकारी र सदस्यका अतिरिक्त प्रदेशभित्रका जिल्ला अध्यक्षहरु , प्रदेशभित्रका नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्ष सहभागी थिए ।
बैठकमा मुख्य बहस मधेश मुद्दा एबं मधेश केन्द्रित रणनीतिमा भएको अध्यक्ष सोनलले स्पष्ट पार्नुभयो । यसबाहेक आधारभूत तहसम्म पार्टी सङ्गठन विस्तारको खाका, पार्टी सञ्चालनमा अर्थको महत्व र यसको ब्यवस्थापन, पार्टी र सरकारबीचका सम्बन्ध र स्थानीयतहसम्बन्धित साङ्गठनिक योजनामा विश्तृत छलफल गरिएको सोनलले जानकारी दिनुभयो ।