बर्दिबास : नेकपा (एमाले) को मधेश प्रदेशको प्रथम अधिवेशन सरेको सरै छ । आउने असोज -५ र ६ गते गरिने निधोको अधिवेशन फेरि असोज २४ र २५ का लागि सरेको हो । यसअघि पनि यो अधिवेशन भदौमै गरिने निधो गरिएको थियो । पछिल्लो पटक सो दलको मधेश प्रदेश कमिटी सचिवालयको आइतबार अबेर राती बर्दिबासमा सम्पन्न बैठकले अधिवेशन असोज २४ र २५ मा आयोजना गरिने निणर्य गर्दै मिति सारेको हो ।
“हामीले अधिवेशनको मिति अलि पर सारेका छौं” एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले आज सोमबार सञ्चारकर्मीसँग भन्नुभयो, “अहिलेको तयारी अपूगजस्तो लागेर अधिवेशन भव्य बनाउन १९/२० दिन पर सारिएको हो ।”
अधिवेशन सरेसँगै त्यससँग जोडिएको प्रतिनिधि निर्वाचनको तालिका पनि पर सरेको छ । यसअछि प्रदेशका सबै स्थानीयतह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) मा एकै दिन प्रतिनिधि चयनको निर्वाचन सम्पन्न गर्ने तालिका थियो । अब प्रतिनिधि निर्वाचन असोज १३ गते हुने अध्यक्ष यादवको भनाइ छ ।
यसबीचमा प्रदेशभित्रका आठ जिल्लामध्ये कतिपयमा सदस्यता प्रमाणित हुन बाँकी रहेको, मातहत कमिटी (जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका) सबैको आन्तरिक लेखापरीक्षण सम्पन्न भइनसकेको र अधिवेशनका अन्य तयारी पनि राम्ररी अनुगमन हुन नसकेको हुँदा मिति पर सारिएको एमाले मधेश प्रदेश सचिवालयले जनाएको छ । अब असोज-७ भित्र सबै जिल्लाले प्रमाणिकरण भएको सदस्यता अभिलेख केन्द्रबाट लिइसक्नु पर्ने र यसै भदौ मसान्तभित्र आन्तरिक लेखापरीक्षण सम्पन्न गरीसक्नु पर्ने नयाँ तालिका बनेको सो दलको प्रदेश प्रचार विभागका प्रमुख सोम शर्माले जानकारी दिनुभयो । अधिवेशनको स्थलभने पूर्वनिर्धारित जनकपुरधामलाई नै कायम राखिएको छ ।
यसैगरी प्रदेशका आठ जिल्लामध्ये महोत्तरी, रौतहट र पर्साका जिल्ला अधिवेशन अझै सम्पन्न हुन सकेका छैनन् । यी तीनै जिल्लाका अधिवेशनका मिति पनि भदौ, असोज हुँदै अब मङ्सिरका लागि पर सारिएका छन् ।
एमालेको विधानमा तदर्थ कमिटी (समिति) को अवधि बढीमा छ महिनाको हुने भनिएपनि यहाँको प्रदेश , केही जिल्ला र तलका मातहत कमिटीहरु वर्षौदेखि तदर्थ नै चल्दैछन् । अब तदर्थ रहेका कमिटीको अधिवेशन सम्पन्न गर्न आलटाल गरिनु नहुने आधारभूततह (स्थानीयतह) का सो दलका कार्यकर्ता बताउँछन् ।