काठमाडाैं : पहिलो पटक एसिया कप खेलिरहेको नेपाल समूहको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको छ। श्रीलंकाको पेल्लेकेले रंगशालामा भएको खेल वर्षाले प्रभावित भएपछि दोस्रो इनिङ २३ ओभरमा झारिएको थियो।

डिएल मेथर्डमा पाएको १४५ रनको लक्ष्य भारतले विनाक्षति २०.१ ओभरमा भेट्यो। भारतलाई सहज जित दिलाउन क्रममा दुवै ओपनरले अर्धशतक बनाए। कप्तान रोहित शर्माले ५९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए।

नेपालको बलिङ खासै राम्रो नभए पनि ब्याटिङमा भने निकै राम्रो प्रदर्शन गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको नेपाल लागि आसिफ सेख र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको इनिङ खेले । उनले ९७ बलमा ८ चौका प्रहार गरे। आसिफले कुशल भुर्तेलसँग मिलेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए।

यी दुईले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३८ रन बनाए।

यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामी अर्धशतक बनाउन २ रन मात्र चुके । मोहम्मद सामीको बलमा विकेटकिपर इशन किशनबाट क्याच आउट हुनुअघि उनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए।

यस्तै, दीपेन्द्रसिं ऐरीले २५ बलमा ३ चौका प्रहार गर्दै २९ रन बनाए। दीपेन्द्र र सोमपालले सातौं विकेटका लागि ५० रनको उत्कृष्ट साझेदारी गरे। गुल्सन झाले ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए। सिराजले ९.२ ओभरमा ६१ रन खर्चिए भने जडेजाले १० ओभरमा ४० रन खर्चिए। यस्तै, मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले पनि समान १ विकेट लिए।

नेपाललाई हराउँदै भारत समूह एबाट उपविजेताका रुपमा सुपर फोरमा पुगेको छ। समूहबाट पाकिस्तान विजेता बन्दै सुपर फोरमा पुगेको छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

२०८० भाद्र १९, मंगलवार ०७:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय