महोत्तरी : मधेश प्रदेशका भारतीय सीमावर्ती बजारमा नेपालीको धुइरो (ताँती) देखिदो छ । महोत्तरीसहितका प्रदेशका आठवटै जिल्लाका दक्षिणी भारतीय सीमावर्ती बजारमा अहिले चाडपर्वको बजार जमेको हो । बडादसैं (मधेशमा ‘दशहारा’ भनिन्छ) पर्वका बेला सीमावर्ती गाउँनगर बस्तीका मात्र नभई निकै माथिसम्मका नेपाली बजारु सामान लिन भारतीय बजार जाने गरेपछि ती बजार नेपालीले भरिभराउ देखिदाछन् ।
राष्ट्रिय महत्वका दशहारा, दीपावली र छठगायतका पारम्परिक र साँस्कृतिक चाडपर्वका लागि आम रुपमै मधेशका नेपालीको किनमेल भारतीय बजारमा हुँदै आएको छ । अहिले महोत्तरी पारीका मधवापुर, भिठ्ठामोर, सुरसण्ड, परिहार, बेलामच्छपकौनी , कन्हमा र भिसवासहितका भारतीय बजारका बेपारी (व्यापारी) लाई नेपाली ग्राहकको वास्ता गर्न, मागेको सामान दिन र हिसाबअनुसार रकम (नगद) फर्साउन असिनपसिन परेको देखिन्छ । भारतीय बजार नेपाली ग्राहकले अहिले ‘गुलजार’ (चहलपहलयुक्त, व्यस्त) छन् । यसैबेला सीमा वारीका बजार र पसल भने सुनसान देखिन्छन् ।
सामान्यतया सीमावर्ती क्षेत्रका नेपाली दैनिक उपभोग्य बस्तु लिन अन्यबेला पनि भारतीय बजार नै धाउँछन् । अहिले चाडवाडले गर्दा भारतीय बजारमा एकाबिहानैदेखि साँझसम्मै नेपालीको भीड देखिदो छ । सीमाबाट निकै भित्रसम्मका नेपाली बजारु कामले अहिले भारतीय बजार जाने क्रम अन्य बेलाभन्दा बाक्लिएको छ ।
“देखियौ न, चावल कहियौ आ चिनीसहितक आन सामान, अपनादिस आ ओइपार कत्तेक अन्तर अई” (हेर्नोस् न, चामल भन्नोस् या चिनीसहितका अन्य दैनिक उपभोग्य बस्तु, हाम्रोतिर र पारी (भारत) कति अन्तर छ ) सम्सी पारीको भारतीय बजार कन्हमाबाट आठ/दश किलो चामल , एक पोका खानेतेल, एकाध किलो चिनी र खुद्रा सामानको झोला बोकेर घर फर्कदै गरेकी सम्सी गाउँपालिकाको मोतीगिर पर्सा गाउँकी शैलवती साह भन्नुहुन्छ, “अपनादिस त पावैन त्योहारमें आओर हर सामानमें लुट मचैछै” (हाम्रातिर त चाडवाडमा प्रत्येक सामानमा झन लुट नै मच्चिन्छ) । चाडवाड लागेपछि हाटबजार व्यवस्थित र सरल हुनपर्नेमा त्यो हुन नसक्दा दैनिक उपभोग्य बस्तु लिन भारतीय बजार धाउनु परेको नेपाली ग्राहकको गुनासो छ । खासमा नेपाली बजारमा प्रशासनिक अनुगमन नहुँदा तस्कर बेपारीको मनपरी चलेको आम उपभोक्ता बताउँछन् । यद्यपि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने जिल्लाका बजारहरुमा अनुगमन बढाइएको बताउनुहुन्छ ।
अहिले चाडवाडलक्षित सस्तो बजार ठाउँठाउँमा खोलिएका भएपनि ती सहरीक्षेत्रमा केन्द्रित हुँदा ग्रामीण भेगका नेपालीको गन्तव्य भारतीय बजार बनेको हो । खासगरी दैनिक उपभोग्य भान्साकै सामान लिन दुई पैसा सुविस्ता हुँदा धाएर भारतीय बजार जानुपरेको रामगोपालपुर नगरपालिका-२ टेङर बस्तीकी रामपरी यादव बताउनुहुन्छ ।
हुन पनि दैनिक ज्यालादारी गरेर जीवन धान्ने नेपाली आफ्नो (नेपालको) बजार अचाक्ली महँगो हुने गरेको बताउँछन् । भारतीय बजारमा चिनी ६१ (नेपाली मुद्रा) रुपैयाँ प्रतिकिलो पाइँदा नेपाली बजारमा १०० नाघेको भाउ छ । अन्य दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि यसै अनुपातको फरक भएपछि गरिब नेपाली भारतीय बजारमा भर पर्नु परेको यहाँका सामाजिक अगुवा बताउँछन् । गरिब नेपालीमात्र नभएर हुनेखाने वर्गका नेपाली पनि चाडपर्वको बजारका लागि सीमापारी नै जाने गरेका देखिन्छन् ।
“के गर्नु ? गरिबीको मार छ, घरबाट दुई/तीन किलोमीटर परको भारतीय बजारमा यताभन्दा सस्तो सामान पाइन्छ, त्यसैले सीमावर्ती क्षेत्रका नेपालीको रोजाइमा भारतीय बजार परेका हुन्” एकडारा गाउँपालिकाको भटौलिया बस्तीका सामाजिक कार्यकर्ता प्रवीण कणर् भन्नुहुन्छ ।
अहिले घर आवश्यकताका सामान किन्ने नेपालीको भारतीय बजारमा भीड ह्वात्तै बढेको छ । सीमावर्ती भारतीय बजारका व्यापारी पनि आपूmहरुको व्यापार धेरैजसो नेपाली निर्भर रहेको स्वीकार गर्छन् । महोत्तरीको सुदुर दक्षिणपश्चिमी सीमावर्ती गाउँ खैरवनी पारीको भिसवा बजारका एक किराना पसलका व्यापारी बैजु चौधरीले नेपाली आउन छाडे आफ्नातर्फका कतिको व्यापार सुक्ने प्रतिकृया दिनुभयो । नेपाली उपभोक्ता लक्षित सीमा नाका पारीका भारतीय बजार मधवापुर, भिठ्ठामोर, सुरसण्ड, परिहार, बेला, कन्हमा र भिसवाहरु नेपाली उपभोक्ताको चहलपहलले चलेका भारतीय व्यापारी स्वीकार गर्छन् ।
सीमावारी नेपाली बजारका पसल अहिले सुनसानजस्तै छन् । ससाना घरायसी प्रयोजनका सामान लिनपनि नेपाली उपभोक्ता भारतीय बजार जान थालेपछि नेपाली बजार सुकेका मधवापुर वारीको नेपाली बजार मटिहानीका ब्यापारी नवल साह बताउनुहुन्छ । एक पोका नुनदेखि मरमसला, तरकारी, चिनी, पिठो, चामलजस्ता भान्साका सामान सबै भारतीय बजारमा सस्तो भएपछि नेपालीको भारतीय बजारमा आवाजाही बढेको हो । यसबाहेक लत्ताकपडा र अन्य किराना सामान पनि भारतीय बजारमा नेपालभन्दा सस्तो पाइने भएको हुँदा उतै जाने गरिएको भिठ्ठामोरमा भेटिनु भएकी जलेश्वर- १२ मलिबाराकी गृहिणी रामशीला देवी बताउनुहुन्छ ।
नेपाली व्यापारी भारतीय बजारबाट ल्याइने सामानको भन्सार शुल्क, ढुवानी भाडा र श्रमिक खर्च जोडेर सामान बेच्नु पर्दा केही मँहगो पर्न जाँदा उपभोक्ता भारतीय बजार जाने गरेका बताउँछन् । अति आवश्यकीय घर प्रयोजनका सामग्रीको भन्सार महसुुल ठिक ढङ्गले व्यवस्थापन नगरिए आपूmहरु झोलीतुम्वा लिएर हिडे हुने स्थिति बनेको नेपाली व्यापारीको गुनासो छ ।
सीमा क्षेत्रका नेपालीभने आर्जनका क्षेत्र सुक्दै जाँदा थोरै रकम (पैसा) बचाउन एक किलो चिनी लिन पनि भारतीय बजार नै पुग्नु परेको बताउँछन् । अहिले भारतीय व्यापारीले नेपाली मुद्रा सरकारले तोकेकै दरमा लिई दिएपछि झन् सुविस्ता भएको नेपाली उपभोक्ताको भनाइ छ । यसअघि सीमावर्ती भारतीय बजारका व्यापारीले मुद्रा सटहीमा अतिरिक्त बट्टी लिने गरेका थिए ।