बर्दिबास : दसैं पर्वमा जताततै मेला, उत्सव र घुमफिरको क्रम चलीरहेका बेला महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित आधारशीला परिवारले विषद दार्शनिक छलफल चलाएको छ ।

यसपालिको दसैं विदाको अवसरमा आधारशीलाले गत बुधबारदेखि चारदिने ‘एक्काइसौं शताब्दीमा नेपाली विशेषताको समाजवाद’ विषयक वैचारिक कार्यक्रम आज सम्पन्न गरेको हो । आधारशीला कम्युनिष्ट पार्टी र यसको दर्शनमा विश्वास गर्ने १४ परिवारले सञ्चालन गरेका सामुहिक घर (कम्युन) हो ।

यसपालिको चारदिने अन्तरकृयामा बिभिन्न विधाका १३ वटा कक्षामा विषयपिच्छे कार्यपत्र प्रस्तुति र छलफल गरिएको आधारशीला परिवारका इन्द्रराज लामाले जानकारी दिनुभयो । चारदिने कार्यक्रममा ‘विश्व व्यवस्था, नेपालको पूजीवाद र भूराजनीति’ विषयमा सहप्राध्यापक डा. खगेन्द्र प्रसाईं, ‘नेपाली समाजको समाजवाद मैत्री संस्कृति’ विषयमा भोगीराज ताम्लिङ्, ‘वातावरणका अन्तराष्ट्रिय मुद्दा र नेपालको समाजवादको यात्रा’ विषयमा डा. पपुलर जेन्टलले कार्यपत्र प्रस्तुत गर्नुभई सहभागीबीच अन्तरकृया गराइएको आधारशीलाले जनाएको छ ।

त्यसैगरी ‘धर्म, संस्कृति र नेपाली समाज’ , ‘रेमिट्यान्स र नेपालमा यसले पारेको सामाजिक प्रभाव’, ‘माक्र्सवादः समुन्नत समाज निर्माणको वैज्ञानिक आधार’, ‘ पूर्वीय दर्शन र भौतिकवाद’ र ‘विज्ञान, वैज्ञानिक विचार , अर्थ र प्रयोजन’ विषयक कार्यपत्र क्रमशः प्रकाश राई, डा. लेखनाथ पौड्याल, रमेश सुनुवार, गोपीरमण उपाध्याय र तुलसी महर्जनले प्रस्तुत गर्नुभई छलफल भएको छ ।

त्यस्तै ‘ शिक्षा, संस्कृति र समाजवाद’, ‘आधुनिक उत्पादन प्रणाली र नेपालीको अगाडिको बाटो’, ‘डिजिटल युगमा मिडिया , भ्रम र यथार्थ’, माक्र्सवाद, लोकप्रियतावाद र युवा’ र ‘अहिलेको वैचारिक , राजनीतिक कार्यदिशा’ विषयक कार्यपत्रहरु क्रमशः शिक्षाविद् विमल पुmँयाल, अर्थविद् अचलराज पाण्डे, वरिष्ट पत्रकार विकास पन्थ , दर्शनशास्त्री इन्द्रराज भट्टराई र आधारशीलाका संस्थापक गिरिराजमणि पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभई सहभागीबीच अन्तरकृया गरिएको आधारशीलाका अध्यक्ष दीपबहादुर योञ्जनले जानकारी दिनुभयो ।

चारदिने यो अन्तरकृयाले विज्ञान, दर्शन, संस्कृति परम्परा, अर्थव्यवस्था, मुलुकको राजनीतिक अवस्था, समाजवादी क्रान्ति र पछिल्लो सञ्चार प्रविधिबारे आधारभूत जानकारी पाइएको महोत्तरीकी सहभागी दीपा लामाले बताउनुभयो । कार्यक्रममा महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका समेत ६० जना अगुवा राजनीतिक कार्यकर्ता सहभागी भएका आधारशीलाले जनाएको छ ।

आधारशीलाले बर्सेनि दसैं पर्व र आफ्नै वार्षिकोत्सवमा साहित्य, दर्शन र मुलुकको राजनीतिक परिवेशबारे विद्वानहरुका प्रस्तुति र छलफल सञ्चालन गर्दै आएको छ । विगतमा वामपन्थी नेता स्व. निर्मल लामाबाट राजनीतिक प्रशिक्षण पाएका १४ परिवारको साझा घर आधारशीला परिवार २०६० साल माघ २५ गते गिरिराजमणि पोखरेलले स्थापना गर्नुभएको हो । अहिले आधारशीलामा १४ परिवारका जम्मा ३८ जना सदस्य सामुहिक रुपमा बस्दैछन् । नेकपा माओवादीकेन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख संरक्षक र उपमहासचिब गिरिराजमणि पोखरेल अहिले आधारशीला परिवारको संरक्षक हुनुहुन्छ ।

२०८० कार्तिक ४, शनिबार १०:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय