फाइल फोटो / नेपालवाणी

काठमाडौं, कात्तिक २९ : यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

बिहान १०:५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमाला लगाइदिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभसाइत मध्याह्न १० बजेर ५१ मिनेटमा तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि बिग्रय भने पर्ने छैन।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले एउटै परिवारमा जन्मिनु र दुख पनि सुख पनिसंगै भोग्नु सामान्य विषय नभएको भन्दै, भाइटीका, दाजुभाई र दिदी बहिनीको सम्बन्धलाई गहिरोसंग बुझ्ने पर्व भएको बताए।

उनले यसलाई औपचारिक पर्वको रुपमा मात्रै मनाउने नभई एकअर्का बुझ्ने वाल्यकालदेखिको प्रेमलाई पुर्न जागरण गर्नु पर्ने बताए।

भाइटीका यमराज अर्थात परिर्वतनको पुजा र अर्को प्रेमको पुजा भएको उनको तर्क छ। ‘परिर्वतनलाई आत्मसाथ गर भनेर सिकाउनु नै यमराजको पुजा गर्नु हो। र परिर्वतनलाई आत्मसाथ गर्न हामी कसलाई सिकाउछौ जसलाई प्रेम गर्छौं,’ उनले भने।

भाइटीकाका समय दाजु–भाइले पश्चिम फर्केर बस्ने र दिदी–बहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम हुने शास्त्रीय मान्यता छ।

आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाडौंको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने पनि चलन रहँखदै आएको छ।

नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ।

२०८० कार्तिक २९, बुधबार ०९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय