फाइल फोटो / नेपालवाणी

जनकपुरधाम : छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना विधि गरिदैछ ।

जीवनपद्धतिलाई प्रतिबिम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरना अन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास वस्ने गर्दछन् । बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर ,दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ ।

कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा जतिओटा अर्घदान गरिने हो, त्यतिओटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध ,केरा मूला , पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

२०८० मंसिर २, शनिबार ०९:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय