महोत्तरी, ६ मङ्सिर । अब प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेका हरुले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा हिजो मङ्गलबार पुस्तकालय सञ्चालनमा आएसँगै हिरासतमा रहेका हरुले यो अवसर पाउन थालेका हुन् । हिरासतकक्षमा स्थापित पुस्तकालयको हिजो मङ्गलबार नै नेपाल प्रहरीका मधेश प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले उद्घाटन गर्नुभएको हो ।

स्थापित पुस्तकालयमा नेपाली साहित्यका बिभिन्न विधाका गरी ३९७ पुस्तक प्रारम्भिक चरणमा राखिएका छन् । हिरासतमा रहेका हरुले स्वैच्छिक चासोअनुसार पुस्तक अध्ययनको अवसर पाउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा अहिले बिभिन्न अपराधको अनुसन्धानका क्रममा ५० जना थुनुवा छन् ।

पुुस्तकालय स्थापना र यसको सञ्चालनले थुनुवाहरुमा अध्ययन अभिरुची जगाउन, अध्ययनप्रति लगाव बढाउन, अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुग्ने प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) भट्टराईको विश्वास छ । पुस्तकालय सञ्चालनले थुनुवाहरुको आनीबानी सुधारमा महत्वपूणर् उपलब्धी हासिल हुने प्रहरी अधिकारीहरुको धारणा छ । सञ्चालनमा आएसँगै प्रहरी नायब महानिरीक्षक भट्टराई र प्रहरी उपरीक्षक (एसपी) मल्लले हिरासतकक्षका थुनुवाले रोजेका पुस्तक अध्ययनका लागि प्रदान गर्नुभयो ।

पुस्तकालय सञ्चालनमा आएसँगै यसको सञ्चालनका प्रहरी जनशक्ति व्यवस्थापन गरी अध्ययनकक्षको चाँजो मिलाइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच यसअघि नै सम्पन्न कार्य सम्पादन सम्झौताअनुसार ‘हिरासतमा पुस्तकालय’ सञ्चालनमा ल्याइएको मल्लको भनाइ छ ।

अहिले बिभिन्न विधाका ३९७ पुस्तकबाट सुरु गरिएको पुस्तकालयलाई क्रमशः समृद्ध बनाउँदै लगिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । “हामीसँग (जिप्रकामा) नेपाली साहित्यका बिभिन्न विधा (कविता, कथा, उपन्यास, दर्शन, अध्यात्मिक, विज्ञान, निवन्ध, आत्मकथासहित) का ५०० भन्दा बढी पुस्तक छन्” प्रहरी उपरीक्षक मल्लले भन्नुभयो, “क्रमशः आवश्यकताअनुसार नवस्थापित पुस्तकालयमा तिनलाई व्यवस्थापन गर्दै लगिन्छ ।” कार्यालय परिसरभित्र कार्यालय प्रयोजन र हिरासतकक्ष प्रयोजनका दुई पुस्तकालय सञ्चालनमा आएका छन् । अब चाँडै नागरीक- प्रहरी पुस्तकालयसमेत सञ्चालनमा ल्याइने तयारी रहेको मल्लको भनाइ छ ।

अहिले नवस्थापित ‘हिरासतमा पुस्तकालय’ लाई आन्तरिक कार्यविधी बनाएर थुनुवालाई निश्चित समय र पढ्ने खुल्ला वातावरण मिलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हिरासतमा रहेका थुनुवालाई अध्ययन अभिरुची जगाएर पढ्ने बानीको विकास गराउनु पुस्तकालय स्थापनाको मुख्य उद्देश्य रहेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

प्रहरीको हिरासतकक्ष यातना र प्रताडना दिइने ठाउँभन्ने आमधारणा रहेको छ । महोत्तरीमा नेपाल प्रहरीले फरक अभ्यास गराएर कानूनअनुसार थुनुवामा रहेका हरुलाई विगत कर्मप्रति पश्चाताप र सत्कर्मप्रति अभिप्रेरित गराउन यो कार्य (पुस्तकालय स्थापना र अध्ययनको चाँजो) ले सहयोग पुर्‍याउने यहाँका बुद्धिजीवीको धारणा छ ।

२०८० मंसिर ६, बुधबार ०८:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय