गोविन्द महतो / जकपुरधाम ।
जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पिटलमा एक बालकको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । न्यूरो हस्पिटलबाट डिस्चार्ज गर्ने वित्तिकै सामान्य बिरामी रहेका बालकको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै ढुङ्गामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो । हस्पिटल अगाडी मृतक बालकका आफन्तजनहरुले टायर बालेर विरोध प्रदर्शन गर्नुको साथै ढुङ्गामुढा गरेपछि केही थान सिसा समेत फुटेको छ ।
हस्पिटलले डिस्चार्ज गर्ने वित्तिकै बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै शव उठाउन मानेका छैनन् । भने शवलाई हस्पिटलमै राखेर न्याय तथा क्षतिपूर्तीको माग सहित टायर बालेर विरोध प्रदर्शन गरिरहेको छ ।
मृतक बालकका आफन्त राम बहादुर गदैलीका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेको तथा रुघाखोकी जस्तो देखिएपछि बालरोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । सामान्य उपचारपछि डा. ठाकुर कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेको थियो । बालकलाई बुधबार हस्पिटलमा भर्ना गरेर निको भएको भन्दै हस्पिटलले बिहीबार बिहान १० बजे डिस्चार्ज ग¥यो । तर हस्पिटलबाट ननिस्किदै बालकको श्वास–प्रश्वासमा समस्या आएर थप सिकिस्त भएपछि पुनः उपचार कक्षमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो ।
‘हस्पिटल चिकित्सकले यूरिनमा इन्फेक्सन भएको र छिट्टै ठीक भइहाल्ने भनेर भर्ना गरे र ठीक भैसक्यो घर लानुस भनेर डिस्चार्ज गरेपछि तल गेटमा आउने वित्तिक्कै बालकमा श्वास–प्रश्वासको समस्या आएर बेहोस भएको उपचारमा आएका छिमेकी मनिष कर्णले बताए । मनिषले भने, ‘माथिबाट तल आउने वित्तिक्कै कसरी एक्कासी कसरी यस्तो भयो । चिकित्सकले अस्पिटलमा राखेपछि सबै चेकजाँच गर्नुपर्छ । हस्पिटलमा ठीक हुने तर तल आउँदा विरामी हुने यसलाई चिकित्सकको लापरबाही नभिनि के भन्ने ?’
बालकको उपचार गरिरहेका डा. ठाकुरले बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य भएपछि डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए । उनले भने ‘बालक मज्जाले खेलिरहेका थियो । मोबाइल चलाइरहेका थियो । त्यसैले परिवारजनको आग्रहमा हामीले डिस्चार्ज गरिदिएको हो । तर एक्कासी मृत्यु हुनुमा उपचारको लापरबाही होईन । बरु पहिला देखि बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्छ ।’
जनकपुर न्यूरो हस्पिटल २०७८ फाल्गुन देखि डा. विजय राउतले बिना स्वीकृति सञ्चालन गरिरहेका स्वास्थ्य मन्त्रालयको भनाई छ । श्रावण २९ मा स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गर्दा विना मापदण्ड र दर्ताकै पैसाको आडमा चलाईरहेको भेटिएको थियो ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वको टोलीले मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन । तै पनि अस्पताल वर्षौ देखि सञ्चालनमा छ ।