File phot/Nepalvani

काठमाडौं, मंसिर ९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन्।

नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताए।

वर्तमान सरकारले राजनीतिक अस्थिरता र अराजकतालाई नियन्त्रण गर्नुको सट्टा उल्टै प्रोत्साहन गर्ने काम गरिरहेको आरोप अध्यक्ष ओलीले लगाए।

‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन। राजनीति अस्थिर, अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘गुण्डालाई गिरफ्तार गर्ने होइन गिरफ्तार भएको गुण्डालाई सरकारले छोड्न लगाउँछ।’

सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरु नै हुने ओलीले बताए।

अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे। उनले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरे।

उनले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले जनतालाई जात धर्मको नाममा विभाजित गर्ने प्रयास भइरहेको बताए।

‘देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ।’

अहिले भइरहेको षडयन्त्रबाट देशलाई बचाउन नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्गीमा उभिएर लड्न तयार रहेको ओलीले उल्लेख गरे।

२०८० मंसिर ९, शनिबार १७:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय