ममता अर्याल,

लालगढ (धनुषा) , १६ मङ्सिर ।

महोत्तरीको बर्दिबासमा ख्याति कमाएको होटल बर्दिबासले नयाँ थप सुविधा विस्तार गर्दै लालगढमा होटल सञ्चालनमा ल्याएको छ । अत्याधुनिक सुविधासहितको यो होटल आज शनिबार विशेष समारोहबीच मधेश प्रदेशका मुख्यमन्त्री सरा्जकुमार यादवले उद्घाटन गर्नुभएसँगै सञ्चालन भएको हो ।

चार तारे मापदण्डमा निर्मित लालगढस्थित यो होटलले हेल्थक्लव, स्टिम बाथ, पौडी पोखरी (स्विमिङ् पुल), चित्ताकर्षक बगैंचा र बिभिन्न देशका स्वादिष्ट परिकारको सेवा दिन थालेको छ । जम्मा ८० कोठाको सयनकक्ष सञ्चालनको लक्ष लिएको होटलले आजबाटै ४० कोठा सञ्चालनमा ल्याइएको होटल व्यवस्थापनले जनाएको छ । जम्मा एक बिघा दुई कठ्ठा क्षेत्रफलमा फैलिएको होटल परिसरमा अत्याधुनिक सुविधासहितको सभाहल र आउटडोर/इनडोर दुईवटा व्याङ्केट छन् । दुई हजार ५०० जना सहभागी अटाउने आउटडोर ब्याङ्केट अहिले यसभेगकै ठूलो सभाहल मानिएको छ । तुलना गर्दा सानो भनिएको इनडोर ब्याङ्केटमा पनि एक हजार सहभागी अटाउने क्षमता छ ।

विवाह, ब्रतबन्धसहितका माङ्गलिक समारोह, सभासम्मेलन, अधिवेशनजस्ता ठूलठूला समारोह सम्पन्न गर्न सकिने गरी सभाहलको व्यवस्था भएको छ । पूर्वाधारको अभावमा मधेश प्रदेशमा गरिन पर्ने कार्यक्रमहरु अन्यत्र ठूला सहरमा गरिनपर्ने अवस्था अब अन्त्य भएको होटल सञ्चालक युवा उद्यमी हीरालाल गौतमको भनाइ छ ।

होटल सञ्चालन भएपनि निर्माणसँग जोडिएका केही काम अझै हुँदैछन् । होटल सञ्चालनमा आएसँगै थप १०० भन्दा बढीले रोजगार सुविधा पाएका छन् । सबै निर्माण कार्य सकिदा झण्डै एक अरब खर्च हुने होटल व्यवस्थापनको अड्कल छ । धनुषाको मिथिला नगरपालिका-९ लालगढमा निर्माण भई सञ्चालनमा आएको यो होटलले पर्यटन प्रबद्र्धन, उद्यम विकास र रोजगारी प्रबद्र्धनमा सहयोग पुग्ने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अपेक्षा छ ।

२०८० मंसिर १६, शनिबार १६:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय