महोत्तरी : महोत्तरीको बर्दिबास नगरक्षेत्रका छ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था आर्थिक सङ्कटमा फस्दैछ । धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक सङ्कटमा फस्दै गएको हो ।
संस्थाको विगत बक्यौता चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्म दुई करोड १४ लाख नाघेको छ । संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झण्डै १०० को हाराहारीमा पुगेका कोषाध्यक्ष भोजप्रसाद फुँयाल (शङ्कर) बताउनुहुन्छ । यसरी खानेपानी महसुल तिर्न अटेर गर्ने गृहस्थभन्दा कारोबारी संस्था र ब्यापारिक घरानाका उपभोक्ता धेरै रहेका पुmँयालको भनाइ छ ।
“संस्थामा १२ वर्षदेखि महसुल नबुझाउने पनि रहेछन्” कोषाध्यक्ष फुँयाल भन्नुहुन्छ, “आर्थिक रुपले विपन्न देखिनेले बरु समयमै तिरेका छन्, हुनेखाने देखिनेहरुकै महसुल बुझाउने काममा अटेर देखिएको छ ।” यसरी धेरै बक्यौता महसुल राख्ने हरुमा सातवटा गैरसरकारी संस्था, छ वटा ठूला चलेका होटल , दुईवटा निजी तवरले सञ्चालित अस्पताल, दुईवटा सरकारी कार्यालय, दुईवटा विद्यालय र सम्पन्न घरानाका गनिने ब्यापारी रहेका पुmँयाल बताउनुहुन्छ ।
नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै गत वैशाखदेखी नै बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि अपेक्षित असुली हुन नसकेको संस्थाका पदाधिकारी बताउँछन् । पछिल्लो चरणमा कार्यालय व्यवस्थापनले महसुल नबुझाउने उपभोक्ताको धारा काट्नेसम्मका कार्वाही सुरु गरिएको फुँयालको भनाइ छ । केही उद्योगले त पानी चोरेर आफ्ना धन्दा सञ्चालन गरेका समेत पाइएको समितिले जनाएको छ ।
पानी सङ्कलन, भण्डारण, पाइप व्यवस्थापन, पानी वितरण र कार्यालय व्यवस्थापनमा मासिक १२ लाख बढी खर्च हुन्छ । अहिले रकम अभावले समयमा सरसफाईका काम हुन नसकेर केही पानी ट्याङ्की उपयोगमा आउन नसकेका र एउटा बस्ती (बिष्टटोल मुनि) को पानीट्याङ्कीमा विद्युतीकरण गर्न नसकिदा सेवाप्रवाह बढी खर्चिलो भएको संस्थाका अध्यक्ष भुलन सेन ठकुरी बताउनुहुन्छ ।
“पानीट्याङ्कीमा विद्युत पुर्याउन ४० लाखको खर्च इस्टिमेट छ, रकम अभावमा विद्युतीकरण गर्न नसकिदा डिजलपम्पबाट पानी तानिदा प्रतिमहिना छ लाख बढी खर्च हुँदैछ” अध्यक्ष ठकुरी भन्नुहुन्छ, “पुरानो बक्यौता नआउँदा संस्था आर्थिक सङ्कट व्यहोर्दैछ ।” रकमकै अभावमा यो विद्युतीकरण र अन्य आवश्यकीय काम थाति रहेका ठकुरीको भनाइ छ ।
संस्थाका बर्दिबास नगरपालिका-१, २, ३ (गौरीडाँडा) र १४ का करिब छ हजार उपभोक्ता छन् । यी उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनु मुख्य जिम्मेवारी रहेको संस्था आर्थिक सङ्कटमा फस्दा गर्नुपर्ने काम प्रभावित हुँदै आएका छन् । आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै संस्थाको कार्यसमितिले बक्यौता महसुल नबुझाउने हरुको धारा काट्ने निणर्य गरेको अध्यक्ष ठकुरीले पुष्टि गर्नुभयो ।
“हामी (अहिलेको कार्यसमिति) निर्वाचित भएर काम थालेसँगै गत वैशाखमै बक्यौता बुझाउन लिखित ताकेता गरेका छौं, यसको सुनवाई नभएपछि अब धारा काट्ने निणर्य गर्न वाध्य भइयो” अध्यक्ष ठकुरी भन्नुहुन्छ, “यसै क्रममा मिटर (पानी खपत मात्रा देखाउने यन्त्र) चुँडाएर पानी चोरी गर्ने उद्योगविरुद्ध पनि कार्वाही गरिन्छ ।” प्रत्येक तीन/तीन वर्षमा नयाँ कार्यसमितिको निर्वाचन हुने संस्थामा यसअघिका समितिको कार्यकालका बक्यौता महसुल असुली टाउको दुखाई बनेको ठकुरी बताउनुहुन्छ ।
यता नियमित महसुल बुझाउने सर्वसाधारण उपभोक्ता भने समितिले मुख हेरेर काम गर्ने गरेको कडा आरोप लगाउँछन् । “हेर्नोस् त १२ वर्षदेखि महसुल नबुझाउने यहीं रहेछन् , खै के हेरेर बसेका संस्थाका पदाधिकारी ? पानी चोर्ने उद्योग यहीं रहेछन् , खै कार्वाही ?” बर्दिबास-१ सिन्धुलीरोडका एक उपभोक्ता भन्नुहुन्छ, “यी बक्यौता नबुझाउने र पानी चोर्ने कथित घरानीया भनिन्छन्, त्यसैले समिति कार्वाहीबाट हच्कदैछ ।” करिब छ हजारमध्ये १०० सङ्ख्याका उपभोक्ता अटेरी देखिदा कार्वाही गर्न नसक्नु मुख हेरेर आलटाल गरिएको नै भएको सर्वसाधारणको रोष छ ।
खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिन्छ । यसवापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन् । खपत बढे महसुल पनि बढ्दै जान्छ । विगत बक्यौता महसुल असुलउपर गर्न र धारा छेडछाड गर्नेविरुद्ध कार्वाहीमा खुट्टा नकमाइने संस्थाका पदाधिकारीले बताउँदै आएका छन् ।
“हामीले पर्याप्त जनाउ र समय दिन पर्छ, त्यो हामीले गर्दै आएका छौं, अब कार्वाहीको चरण थालिन्छ, कोही कसैको अनुहार हेर्ने प्रश्न नै आउँदैन” अध्यक्ष ठकुरी भन्नुहुन्छ, “संस्थासँगको अटेर सह्य हुदैन ।” संस्थाबाट पाउने सहुलियत सबैले पाउने ठकुरीको भनाइ छ । यसपालि दसैं, दीपावली र छठ पर्व पारेर गत कात्तिक महिनाको महसुल छुट दिइएर बोनसको लाभ दिइएको बताउँदै ठकुरीले न्यूनतम शुल्क लाग्ने १० हजार लिटरको सिलिङ्लाई १५ हजार लिटरमा पुर्याइन प्रयत्न गरिएको बताउनुभयो ।
“संस्था र समिति उपभोक्ता हितप्रति समर्पित छन्” ठकुरी अपिल गर्दै भन्नुहुन्छ, “सबैले समयमै महसुल बुझाएर संस्था र समितिलाई सहयोग गर्नुहोस् ।”