नेपालवाणी / जनकपुरधाम ।
उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले देशमा जल, जंगल, जमिन र जवानलाई खेर जान दिन नहुने बरु सदुपयोग गर्नुपर्ने बताए । उनले देशको चारवटा ‘ज’ जल, जंगल, जमिन र जवानीलाई समयमै खेर जान दिन नहुने बताउदै श्रोतको परिचालनका लागि आवश्यक नीति बनाउदै सदुपयोग गनुपर्नेमा जोड दिए ।
उद्यम विकास तथा आर्थिक विकासका लागि भएका प्रयासहरु बारेमा हेल्भेटासले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सहयोगमा महोत्तरीको बर्दिवास स्थित गौतम होटलमा आयोजना गरेको अनुभव आदानप्रदान तथा अन्तरक्रियामा राज्यमन्त्री अन्सारीले उद्यमशीलता विकासका लागि उपभोक्ता सचेतना हुँदै प्रकृतिक श्रोत र साधनको सदुपयोगमा जोड दिए ।
उनले अहिले उद्योग व्यापार र कृषि उद्यमीहरुको मनोबल गिरेको अवस्थामा हेल्भेटासले आमाले खेल्ने भूमिका खेलेको भन्दै हेल्भेटासको गविधिको प्रशंसा गरे । उनले परम्परागत कृषि खेतीले आर्थिक विकास सम्भव नरहेकाले लक्षित कृषि खेती गरेर उपभोक्ता सचेतना बढाउनुपर्ने आवश्यकता रहेको औल्याए । हेल्भीटासका टिम लिडर हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साह, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, मधेस प्रदेशको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत रोशन मेहेता, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतम लगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा टिम लिडर हरि गुरुङले हेल्भीटासले हालसम्म गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।
१९५६ सालदेखि नोपालमा काम शुरु गरेको हेल्भीटासले ७ वटा प्रदेशका २९२ पालिकाहरुमा स्थानीय श्रोतमा आधारित उद्यम व्यावसाय प्रर्वद्धन गरी रोजगारी सृजना गर्नका लागि अध्ययन, अनुसन्धान, नमूना अभ्यास गरी उपयुक्त ठहरिएका व्यावसायमा निजी क्षेत्रको लगानी र व्यापार अनुकुलन व्यावस्था निर्माण गरी निजी क्षेत्रसँग वकालत गर्ने काम गरेको जानकारी गराए ।
कार्यक्रममा सहभागी विभिन्न स्थानीय तहका प्रमुख, प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरु र कृषि उद्यामीहरुले आ–आफ्नो अनुभव सुनाएका हेल्भिटास नेपाल मधेश प्रदेशका संयोजक कृष्णलाल कर्ण जानकारी दिए । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

२०८० पुष १६, सोमबार ११:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय