मटिहानी, (महोत्तरी) : बढ्दो जाडोबीच महोत्तरीको मटिहानीस्थित धार्मिक मठ/मन्दिर र मजारका साधुसन्तलाई न्यानो कम्बल बाँडिएको छ । मठ/मन्दिर र पीरबाबाको मजारले प्रसिद्धि पाएको मटिहानी नगरक्षेत्रका मठ/मन्दिर र मजारमा रहेका साधुसन्तलाई नगरप्रमुख हरिप्रसाद मण्डलले आज बिहान न्यानो कम्बल वितरण गर्नुभएको हो । मठ/मन्दिर र मजारमा रहने ४० जना साधुसन्तले लगलगी मुटु कमाउने जाडोमा न्यानो कम्बल पाएपछि राहत महसुस गरेका छन् ।
“हामी साधुसन्तको भर नै श्रद्धालुजन हुन् , जाडोमा कम्बल पायौं, अब यसैले जाडो कट्ला” कम्बल पाएपछि श्री लक्ष्मीनारायण मन्दिरमा रहनुहुने साधु शिवशरण दास वैष्णवले भन्नुभयो । यसैगरी पीरबाबा मजारका फकिर हशन अहमदले पनि जाडोमा नगरपालिकाले गरेको कम्बल सहयोगले राहत मिलेको बताउनु भएको छ ।
मटिहानीमा मुलुककै प्रसिद्ध र जेठो लक्ष्मीनारायण मठ र हिन्दू परम्पराका आराध्यदेव भगवान लक्ष्मीनारायणको मन्दिर छ । यहाँको यो मठ मुलुकभरिकै मठहरुको नायक मठ मानिन्छ । त्यसैले अन्य मठका मुख्य साधु महन्थ र यहाँका भने ‘मानमहन्थ’ भनिन्छन् । मठको प्रशासनिक प्रमुखको भूमिका ‘मानमहन्थ’ बाटै हुने व्यवस्था छ । मटिहानी नगरको खोजी र यसलाई आधुनिक तवरले बसोबास गराउने हिन्दू परम्पराका साधु तस्मैयाबाबा र इस्लाम परम्पराका सुफीसन्त पीरबाबा मान्छिन् । यहाँ दुबै साधुको सम्झना र सम्मान गर्ने थिति नै बसेको मटिहानीबासी बताउँछन् ।
“मटिहानी हिन्दू परम्पराका साधु तस्मैयाबाबा र इस्लाम परम्पराका सुफीसन्त पीरबाबाले बसाउनु भएको नगर मानिन्छ, त्यसैले यहाँका बासिन्दा दुबै परम्पराप्रति उच्च सम्मान व्यक्त गर्छन्” नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “उहाँहरुकै कृपा र आशिर्वादले यहाँ हिन्दू र इस्लाम सधैं एकअर्काको सहयोगी भई मिलेर बस्दै आएका छन् ।” आफ्नो नगरभित्रका हिन्दू परम्पराका अनुष्ठानमा इस्लाम धर्मावलम्बी र इस्लाम परम्पराका अनुष्ठानमा हिन्दू धर्मावलम्बी सराबरी देखिनु उनै तस्मैयाबाबा र पीरबाबाको आशिर्वाद मानिएको मण्डल बताउनुहुन्छ ।
लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर , लक्ष्मीसागर र तस्मैयाबाबाको अखाडा यहाँ हिन्दू परम्पराका र पीरबाबा मजार इस्लाम परम्पराका पूज्यस्थल मानिन्छन् । लक्ष्मीसागर रामायणकालमा रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ रहेको विश्वास गरिन्छ । इस्लाम परम्पराका सुफीसन्त पीरबाबाको मजारमा ‘मन्नत’ (कुनै पिरमर्काको पुकारा गर्न , वरदान माग्न) माग्न हिन्दू, मुस्लिम सराबरी देखिन्छन् ।
“यहाँको माटो र यसको सुगन्ध नै सद्भावपूणर् छ, यहाँ (मटिहानी) टेकेपछि कसैको मनमा रहेको धार्मिक उन्माद पनि शीतल हुन्छ” मटिहानीस्थित १०५ वर्ष पुरानो गुरुकूल राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य ईश्वरी पौडेल भन्नुहुन्छ, “यो पीरबाबा र तस्मैयाबाबाको प्रताप हो ।”
मटिहानी नगर कार्यपालिकाले बर्सेनिजसो मठ, मन्दिर र मजारका साधुसन्तलाई न्युनतम मानवीय आवश्यकताका कुराको ख्याल राख्ने गरेको यहाँका साधुसन्तको प्रतिकृया छ । आफ्नो नगरको मुख्य परिचय नै धार्मिक नगरीको रहेको हुँदा यो परिचय जोगाउन अहोरात्र लागीरहेका साधुसन्त मटिहानीबासीका आदर्श रहँदै आएका नगरप्रमुख मण्डलको भनाइ छ । “यहाँका साधुसन्तलाई केही गर्न पाउनु अवसर मानिन्छ, हामी त्यो अवसरको यथासक्य उपयोग गर्ने प्रयत्न गर्छौ”मण्डलले भन्नुभयो ।