मटिहानी (महोत्तरी) : आफ्नो बस्ती ओरपर निरक्षर उन्मुलन गर्न मटिहानीका छात्रछात्रा अभियानमा जुटेका छन् । मटिहानी नगरक्षेत्रका पाँच माध्यमिक विद्यालयका ६० जना छात्रछात्रा आआफ्ना नजिकका बस्तीमा यो अभियानमा जुटेका हुन् । अभियानमा जुटेका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा छात्रा ४२ र छात्र १८ छन् ।

आफ्नो नगरक्षेत्रलाई यसैपालि साक्षर घोषणा गर्ने तयारीमा रहेको मटिहानी नगर कार्यपालिकाले यस अभियानमा स्कूले छात्रछात्रालाई जोडेको हो । “माध्यमिक तहमा पढ्ने छात्रछात्रालाई घर नजिक ओरपरका निरक्षर लगत तयार गर्न लगाइएको छ” नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “ग्रामीण परिवेशका नगरका भित्री बस्तीमा निरक्षर बढी छन् , तिनमा पनि महिलाको सङ्ख्या बढी छ, त्यसैले अभियानमा छात्रा बढी खटिएका छन् ।” नगर कार्यपालिकाको कार्यालयले छात्रछात्रालाई लगत सङ्कलनबारे एक दिने अभिमुखिकरण प्रशिक्षण दिएर प्रश्नावलीसहितको लगत सङ्कलन फारम दिएर खटाएको छ ।

दुई चरणको यो अभियानको पहिलो १० दिन लगत सङ्कलन र त्यसपछि साक्षरता अभियान चलाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । अभियानमा खटिएका छात्रछात्रालाई खाजा चिया खर्चवापत पाँच/पाँच हजार दिइएको कार्यालयको शिक्षा शाखाका प्रमुख चन्देश्वर साहले बताउनुभयो ।

मटिहानी नगरपालिकाले २०७८ सालमै नगरक्षेत्रलाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको थियो । तर त्यतिबेला २०७७ देखिकै कोभिड-१९ सङ्क्रमणका कारण काम बढ्न सकेको थिएन । त्यो रोकिएको साक्षर क्षेत्र घोषणा यसै वर्ष गरिने गरी तयारी बढाइएको नगर शिक्षा शाखाले जनाएको छ ।

“अभिमुखिकरण तालिम लिएका छात्रछात्रा आआफ्ना बस्तीमा निरक्षर लगत सङ्कलनको काममा लागी सकेका छन्” शिक्षा शाखा प्रमुख साह भन्नुहुन्छ, “यस अभियानका लागि तथ्याङ्क सङ्कलन फारम र अन्य आवश्यक कागजपत्रसहितको झोला बोकेर विद्यार्थी काममा जुटेका छन् ।” विद्यार्थीले दैनिक आफ्नो अनुकूलको दुई घण्टा समय यो अभियानका लागि लगाउने साहको भनाइ छ । लगत सङ्कलन भएर सोसम्बन्धी विवरण नगर कार्यपालिकाको कार्यालयमा आएपछि अभियानमा सरिक विद्यार्थीले नै कार्यालय परिसरमै साक्षर कक्षा सञ्चालन गर्ने शाखा प्रमुख साहले जानकारी दिनुभयो ।

निरक्षर उन्मुलनसँगै आफ्नो नगरक्षेत्र साक्षर घोषणाको अभियानमा जोडिन पाइएको अवसरले छात्रछात्रा दङ्ग छन् । “हामी नगरको साक्षर अभियानको अङ्ग बन्न पायौं, यो अवसरको भरपूर सदुपयोग गर्नेछौं” अभियानमा जुटेकी मटिहानी-८ स्थित राम माध्यमिक विद्यालयकी १२ कक्षाकी छात्रा ममता साह भन्नुहुन्छ, “काम गर्दाको पहिलो अनुभव बटुल्न निकै उत्साहित छौं ।”

अभियानका लागि सङ्घीय सरकारको १० लाख सहयोग र नगर कार्यपालिकाले दुई लाख विनियोजन गरेको छ । यसै रकमबाट अभियान सम्पन्न गरिने शिक्षा शाखा प्रमुख साहको भनाइ छ । निरक्षर लगत सङ्कलनपछि साक्षर कक्षा सञ्चालन गर्न आवश्यकताअनुसार विद्यार्थी थपिदै लगिने शिक्षा शाखाको योजना छ ।

मटिहानी नगरपालिकाले आफ्नो क्षेत्रको धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक पहिचानका विषय समेटेर मैथिली भाषामा कक्षाः १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम पनि तयार पार्न लागेको शिक्षा शाखाले जनाएको छ ।

 

२०८० पुष २८, शनिबार २०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय