महोत्तरी : पुस मसान्तताकाको लगलग मुटु कमाउने जाडो छ । बाक्लो हुस्सुले डम्म ढाकेको छ । पश्चिमी सिरेटोले लगलगी मुटु कमाउँदो छ । यसैबीच मुख्य पर्व तिलासक्रायत नजिकिएपछि महोत्तरीका थारु र मगर बस्तीमा भने छुट्टै रौनक छ । थारु र मगर बस्ती पर्वको उल्लासमा छन् ।
मकरसक्रायत पनि भनिने यो पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु र मगर जाति समुदायका बस्ती चहलपहलमय छन् । थारुहरुले तिलासक्रायत , माघी र मकरसक्रायत भन्ने यो पर्व मगरले माघेसङ्क्रान्ति नै भन्छन् । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागेपनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल अहिले निकै बढेको छ । यसपालि यो पर्व भोलि सोमबार मनाइँदै छ ।
यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा यसको जोहोको तयारी बढेको हो । हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरेपनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ । अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढेपनि थारु बस्तीभने पर्वको रौनकमा छन् ।
छोरीचेली, ज्वाँइचेला , भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ । “अब पवनी (पर्व) भोलि त होे” धमाधम चिउरा, मुरी, तील र जुनेलोका लाई (सख्खरको खुँदोमा मिलाएर डल्ला पारिने लडडूजस्तै परिकार) बटार्न व्यस्त भङ्गाहा-४ थारुटोल बनराकी पारोवती थारु भन्नुहुन्छ, “सबै कुराको जोगार (जोहो) मा लाग्नु पर्यो नि ।” पर्व मुखमै हुँदा थारु बस्तीका घरघरैजसो सरदाम (पर्वका लागि आवश्यक बस्तु) जुटाउने र व्यवस्थापनको चटारो बढेको उहाँ बताउनुहुन्छ । पर्व भोलि नै हुँदा घरघरै चिउरा, मुरी, तील र जुनेलो भुटेर सख्खरको खुँदोमा मिसाई लाई (लड्डू) बनाउन थालिएको पारोको भनाइ छ ।
त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि यो पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी भङ्गाहाका सबै बस्तीमा थारु बसोबासको बाहुल्यता छ । यसबाहेक बर्दिबास , गौशाला र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारु बसोबासका बस्ती बाक्लै छन् ।
पर्व नजिकिदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएका घर फर्कन थालेका छन् । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिबासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारु बसोबासका बस्ती हुन् ।
थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व नजिकिदै गर्दा बजारहरुमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । यो पर्वमा खास महत्वको मानिने तील, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जमेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा मिसाइ लाई (लड्डू) बनाइने परम्परा छ । यसमा सबैभन्दा बढी तयारी तीलको लाईका लागि गरिन्छ ।
“चिउरा, मुरी र जुनेलो त एकसरो भुटेर मिठ्ठामा मोलेर लाई बनाए भयो, तर तील त झञ्झटिलो छ” गौशाला-९ बिसरपुरकी उषाकली थारु भन्नुहुन्छ, “तील त एक साता पहिले नै केलाउने, भिजाएर फल्ने (बाहिरी कालो बोक्रा निकाल्ने) सुकाउने काम सकेपछिमात्र लाई बन्न सक्छ ।”
तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, ख्वाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको ठाउँठाउँमा बजार लागेका छन् । पर्वको मुखमा तील र मिठ्ठा (सख्खर) बेचेर अन्य सामानको जोहोका लागि नगद आर्जन भएको थोरै खेतीपातीका किसानको भनाइ छ । चिउरा र मुरीका बजार पनि दुई/तीन दिन पहिलेदेखि नै जम्दै आएको छ । त्यसैगरी पर्वमा खाइने कन्दमूल (पिंडालु, तरुल र सुठुनी) को बजार अहिले जताततै जमेको छ ।
तिलासक्रायत पर्वमा सर्वसाधारण उपभोक्ता अलि बढी मूल्यमा पर्ने भएपनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तील थोरै उत्पादन हुनेहुँदा अहिले पाएको मूल्यले अन्यबाली सरह रकम प्राप्त हुनुले केही सन्तोस दिलाएको तील उत्पादक किसान बताउँछन् । एकदशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तील खेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।
त्यसैगरी अहिले दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा (सख्खर) बनाइ केही आर्जन गरिएको बताउँछन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सख्खर)को माग र भाउ दुबै बढ्दा केही राहत भएको बताउँछन् ।
पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी/चेली, मित एबम् अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले यी सामग्रीको जोहो अहिले मिथिलामा बढेको हो । आफ्नो घर र सनेस पठाउनसमेत पर्व सामग्री चाहिनेहुँदा यो पर्वको तयारी केही दिन पहिलेदेखि नै हुने गरेको छ ।