नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुन ।

जंगलमा बस्ने जनावरको संख्या पछिल्लो समय खेतबारीमा तीव्र बढेको छ । ‘सरकारले जनावर नियन्त्रणका लागि केही गरेको छैन, सोचेको पनि छैन । त्यसैले मधेश हरेक जिल्लामा विगविगी छ । मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले भने । चुरेको जंगलमा जनावरलाई शिकार गर्ने जनावर लोप हुनु र पानीको मुहान सुक्दै गएकाले बाँदर, बँदेल, निलगाई तलतिर खेतबारी र बस्ती पसेको मिथिला वाइल्ड लाइफ ट्रस्टका प्रमुख मण्डलको भनाई छ ।

‘प्राकृतिक रूपमा चितुवा, अंजिगर, हुडार, हाइना लगायतका जीवजन्तु जो यी जनावरका बच्चालाई मारेर खान्थे तर ती जनावर जंगलबाट लोप भयो त्यसले उसका बच्चा हुर्कँदै ठूलो हुँदै गयो । संख्या घटेन,’ उनले भने, ‘चुरेमा पानीको श्रोत पनि सुक्दै गयो । त्यसले ती जनावरहर चुरे छोड्न बाध्य भएर तलतिर मधेशका गाउँघर र खेतबारीमा झरे ।’

प्रदेश वन निर्देशनालयका वन संरक्षण एवं व्यवस्थापन शाखाका प्रमुख सुजितकुमार झाले पछिल्लो समय वन्यजन्तु बस्ती पस्नुको मुख्य कारण वन क्षेत्र घट्नु रहेको बताए । ‘चुरे र जंगलतिर पहिले जतिको खाना पाइँदैन,’ उनले भने, ‘जहाँ किसानले खेतबारीमा फलफूलको रुख लगाएका छन्, त्यहाँ उनीहरु सिफ्ट भएर आउँछ । पहिले जंगलमा हर्रो, बर्रो, आँप, अम्बा लगायत फलहर प्रशस्त पाइन्थ्यो तर ती बोटबिरुवा काटिँदै गए । व्यापक वन फडानी भयो । त्यसकै प्रभाव देखिन्छ यो सबै ।’

डिभिजन वन कार्यालय धनुषाका अधिकृत अजयकुमार मिश्रले बन–जंगल जति–जति घट्छ त्यति–त्यति वन्यजन्तु अन्यौलमा पर्छ । उनले भने, ‘सुरुमा बन मासेर पूर्व–पश्चिम राजमार्ग बनाइयो । जुन हाती बाघ, चितुवा, भालु लगायत सबै वन्यजन्तुको करिडोर थियो । पछि वन्यजन्तुलाई डिस्टर्ब हुनेगरी जहाँतहाँ बस्ती बसाइयो त्यो क्रम अझै जारी छ ।

पार्क, बिजुलीको तार, रेल्वे ट्रयाक, सडक, मन्दिर, मध्यपहाडी लोकमार्ग पनि जंगलै मासेर बनाइयो । त्यसले जनावर अन्यौलमा परे,’ उनी भन्छन्, ‘जति नदी चुरेबाट बगेर आउँछ ती सबै नदी बोर्डरसम्म जान्छ । जब बाढी आउँछ कतिपय बगेर आउँछ वा खोलाको बाटो हुँदै नदी हुँदै आउँछ । यहाँ आइसकेपछि हराउँछन् । यसको उत्पादन एकदम हाई छ। यहाँ खेतबारीमा सहजै खाना पाएपछि यहीँ बासस्थान बनाइरहेका छन् ।

५ सय बाँदर जंगल छाडियो

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका बासिन्दालाई केही राहत भएको छ । वडा कार्यालयले भारतको मथुराबाट अनुभवी तीन जनाको टोलि बोलाएर बाँदर धपाउने अभियान थालेपछि स्थानीयलाई राहत भएको हो । एक महिनाको अन्तरालमा करिब ५ सय बाँदर समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोक कुमार महतोले बताए ।

मथुराबाट आएका तीनैजनाले बाँदरलाई पिजरामा समातेर गाडीमा राखेर रातिको समयमा टाढा चुरे जंगल लगेर छाड्ने गरेको छ । बाँदर समात्न पहिला केरा, मुमफली, चना लगायतको खानेकुरा दिएर लोभ्याइन्छ । बाँदर लोभिएपछि पिंजराहरु राखेर त्यसमा फलफुल दिन्छन् । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर उनीहरुलाई जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले बताए ।

‘पहिले फुलफुल खानेकुरा दिएर लोभ्याउँछौं । अनि पिंजरा थपेर समात्छौं । यसरी समात्दा र गाडीमा राखेर सुरक्षित जंगलमा छाड्दा उनीहरुलाई कुनै प्रकारको क्षति हुँदैन’ उनले भने । बारीझारी तथा घना रुखबिरुवाको कारण चित्रपुर गाउँमा केहीवर्षयता बाँदर पसेर आतंक मच्चाएका छन् ।

खेतवारीमा तरकारी, फलफुल जस्ता बालीनालीमा क्षति गर्नुको साथै घरमा पसेर समेत अन्नपात खाना खाइदिने गरेका छन् । बाँदरको यो आतंकबाट पीडित स्थानीय नियन्त्रणको लागि पालिकालाई दबाब दिँदै आएको थियो । गाउँपालिकाको पाँच लाख बजेटबाट बाँदर धपाउने काम भएको र यस भेगका किसानको लागि ठूलो राहत महसुस गरेको वडाध्यक्ष महतोले बताए ।

२०८० फाल्गुन ४, शुक्रबार १२:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय