बर्दिबास । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव-२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजना आज शनिबार तीन दिने सडक खाना महोत्सव -२०८० सुरु भएको हो । आज दिउँसो एक विशेष समारोहबीच बर्दिबास नगर प्रमुख प्रहलादकुमार क्षत्रीले महोत्सवको उद्घाटन गर्नु भएको हो ।

पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर ५०० मीटर सडक दुरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास-सिन्धुली-बनेपा मार्ग) को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुची बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ ।

“मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगरक्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजविन गर्न महोत्सवले सघाउ पुर्‍याउने हाम्रो विश्वास छ” महोत्सव आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि बर्दिबास उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ठ पुरा हुन्छ ।”
महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी , विभिन्न मिष्टान्न परिकार , नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् । सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास-११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड ऐण्ड डेरी विषयका विद्यार्थी , नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास-८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै स्टल सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइ रहेका छन् ।

पर्सि सोमबारसम्म रहने महोत्सवमा ५० वटा स्टल छन् । प्रत्येक स्टलले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा स्टलैपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन् । महोत्सवमा आन्तरिक र वाह्य पर्यटकले मधेशको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनु भएको सङ्घका महासचिब नारायण घिमिरे बताउनुहुन्छ ।

केही दिन पहिलेदेखि नै बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीले बर्दिबासका पर्यटन गन्तव्य पहिल्याउन भन्दै पदयात्रा सुरु गरेका छन् । यो महोत्सवले पनि पदयात्राको उद्देश्यमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।
यस महोत्सवमा पाहुनाले २० देखि ४० प्रतिशत छुटमा परिकारको स्वाद लिनसँगै विशिष्ट साँस्कृतिक कार्यक्रमको पनि मज्जा लिदैछन् । महोत्सवको आयोजनामा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब १५ लाखको लागतमा सुरु गरिएको महोत्सव ५० हजार मान्छेले अवलोकन गर्ने आयोजक संस्थाको लक्ष छ । सङ्घले तीन दिन बर्दिबासमै बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल नै गरेको छ ।

२०८० फाल्गुन ५, शनिबार १७:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय