महोत्तरी । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबासमा मधेश प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता आज बिहान सुरु भएको छ । बर्दिबास नगर ब्याडमिन्टन सङ्घ र बर्दिबास नगर कार्यपालिकाको कार्यालयको सयुक्त आयोजनामा पुरुष डवल्स प्रतिष्पर्धाको प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा मधेश प्रदेशका आठवटै र छिमेकको सिन्धुली जिल्लाका गरी नौ जिल्लाका ३२ टिम सहभागी छन् । बर्दिबासमा निर्मित अत्याधुनिक ब्याडमिन्टन कभर्ड हलका तीन वटा कोर्टमा एकसाथ प्रतियोगिता हुँदैछ । सबै प्रतियोगी टिमबीच आज दिउँसोसम्म प्रतिष्पर्धा गराइ सकिने बर्दिबास ब्याडमिन्टन सङ्घका अध्यक्ष पोषण थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टिमलाई ३१ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाइएको छ । त्यसैगरी दोस्रो हुने टिमलाई प्रमाणपत्रसहित १५ हजार नगद र तेस्रो स्थान प्राप्त गर्ने दुई टिमलाई ११ हजार नगद र प्रमाणपत्र प्रदान गरिने थापाले बताउनुभयो ।

प्रतियोगिताको कुशल व्यवस्थापनका समारोह सञ्चालन ,आर्थिक , खानपान र खेल व्यवस्थापन उपसमिति गठन गरिएका छन् । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख ५० हजार खर्च हुने आयोजकको भनाइ छ । प्रतियोगिता आयोजन गर्न बर्दिबास नगरपालिकाले चार लाख उपलब्ध गराएको र बाँकी रकम दर्ता शुल्क र अन्य स्रोत जुटाएर सङ्घले आन्तरिक तयारीबाट पुरा गर्ने जनाएको छ ।

यसैबीच आज नै बर्दिबास नगर प्रमुख प्रहलादकुमार क्षत्रीले आज बिहान बर्दिबासमा निर्मित अत्याधुनिक ब्याडमिन्टन कवर्डहलको उद्घाटन गर्नुभयो । कवर्डहलको मुख्य भवन निर्माण कार्य सम्पन्न भएपनि सवारी पार्किङ्ग स्थल र चारैतिर पक्की घेराबेरा (पर्खाल) निर्माणको काम बाँकी रहेको छ ।

बर्दिबासमा दुई करोडको लागतमा निर्मित भवनमा मधेश प्रदेश सरकारबाट एक करोड, बर्दिबास नगरपालिकाबाट ५३ लाख र ४७ लाख खेलाडीहरुबाट सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो । बर्दिबास नगरमा ब्याडमिन्टनको नियमित अभ्यास गर्ने ५० भन्दा बढी खेलाडी छन् ।

बर्दिबासमा गत शनिबारदेखि आयोजित तीन दिने सडक खाना महोत्सव जारी छ । यसै क्रममा आयोजित ब्याडमिन्टन प्रतियोगिताले यहाँको चहलपहल ह्वात्तै बढाएको छ । प्रतियोगिता र सडक खाना महोत्सव आज साँझ समापन गरिदैछन् ।

२०८० फाल्गुन ७, सोमबार १०:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय