महोत्तरी : आफ्नै अत्याधुनिक सुविधायुक्त कवर्डहलमा दिनहुँ खेल अभ्यास गर्न पाएपछि महोत्तरीको बर्दिबास नगरक्षेत्रका ब्याडमिन्टन खेलाडी उत्साहित भएका छन् । करिब दुई करोड लागतको अत्याधुनिक सुविधायुक्त कवर्डहल निर्माण भएर सञ्चालनमा आएपछि यसक्षेत्रका ब्याडमिन्टन खेलाडी उत्साहित भएका हुन् ।
“हाम्रो सपना पुरा भएको छ, आफ्नै नगरको अत्याधु्निक कवर्डहलमा खेल्न पाइएको छ” बर्दिबास ब्याडमिन्टन सङ्घका अध्यक्ष पोषण थापा भन्नुहुन्छ, “कवर्डहल विधिवत सञ्चालनमा आएसँगै खेल अभ्यास गर्ने ह्वात्तै बढेका छन् ।” यसपालिको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर गत सोमबार नगरप्रमुख प्रहलादकुमार क्षत्रीले उद््घाटन गर्नुभएसँगै कवर्डहल विधिवत सञ्चालनमा आएको हो ।
“कवर्डहल सञ्चालनमा आएयता दिनहुँ अभ्यास गर्न आउने सिखारु खेलाडी बढ्दैछन्” सङ्घका नगर सचिब चन्द्रबहादुर खड्का भन्नुहुन्छ, “यसले हामीलाई उत्साही बनाएको छ ।”
बर्दिबास-१ को भब्सी नदी किनारको आफ्नो जोतभोगको नदीउकास पाँच कठ्ठा जग्गा बर्दिबास-१ का कृष्णप्रसाद गौतम, कुमार गौतम, दिपाल गौतम र पुष्पाखर गौतमले निशुल्क उपलब्ध गराउनु भएपछि २०७५ सालमा कवर्डहल निर्माणको काम थालिएको थियो । ब्याडमिन्टन कवर्डहल निर्माणमा मधेश प्रदेश सरकारले एक करोड, बर्दिबास नगर कार्यपालिकाको कार्यालयले ५३ लाख आर्थिक सहयोग उपलब्ध गराएका कवर्डहल निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो । हालसम्म करिब ४७ लाख रुपैयाँबराबर (नगद र विभिन्न निर्माण सामग्री) रकम प्राप्त चएको निर्माण समितिका अध्यक्ष खड्काको भनाइ छ ।
अत्याधुनिक प्रविधि जडित कवर्डहलमा एकसाथ खेल्न सकिने तीनवटा ब्याडमिन्टन कोर्ट छन् । यसैगरी समुचित प्रकाश संयोजनसहितको कवर्डहलको माथिल्लो तलाको दर्शक दिर्घा ५०० जना बस्ने क्षमताको छ । माथिल्लो तलाको दर्शक दिर्घामा फर्निचर व्यवस्थापनसमेत मिलाइएको छ । यसैगरी आधुनिक मञ्च र खेलाडीका लागि विश्राम र खेलसामग्री सुरक्षण गर्ने कोठा छन् । सात हजार २२० वर्गफीट क्षेत्रफलमा निर्मित यो कवर्डहल मधेश प्रदेशकै नमुना र सुविधा सम्पन्न बनेको ब्याडमिन्टन सङ्घका जिल्ला अध्यक्ष जलेश्वर-२ का बासिन्दा वरुण दाहाल बताउनुहुन्छ ।
विधिवत सञ्चालनमा आएपनि कवर्डहलमा अझै केही निर्माण काम बाँकी रहेका बर्दिबास ब्याडमिन्टन सङ्घका अध्यक्ष पोषण थापाको भनाइ छ । “मुख्यकुरा देलकोर्टसहितको कवर्डहल विधिवत सञ्चालनमा त आयो, तर यहाँ अझै निर्माण काम बाँकी छन्” अध्यक्ष थापा भन्नुहुन्छ, “कवर्डहलको चारैतिर पर्खाल, हलको भुइँतलाको दर्शककक्ष व्यवस्थापन, सवारी पार्किङ् (बिसौनी) र शौचालय तथा पानी धारा व्यवस्थापनका काम हुन बाँकी छन् ।” रकम अभावमा यी काम हुन नसकेका अध्यक्ष थापाको गुनासो छ ।
यसैबीच बर्दिबास नगरप्रमुख क्षत्रीले कवर्डहलमा गर्न बाँकी काम सङ्घीय र प्रदेश सरकारको समेत सहयोग लिएर सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
“हामी नगरमा खेलकुदको व्यवस्थित विकास गर्न प्रतिबद्ध छौं” क्षत्री भन्नुहुन्छ, “कवर्डहलका बाँकी काम चाँडै सम्पन्न गरिनेछन् ।”
नगरप्रमुखको यो प्रतिबद्धताले खेलाडीको उत्साह बढेको छ । यसअघिका बर्दिबास, खयरमारा, माइस्थान, गौरीबास, हाथीलेट, बिजलपुरा, पशुपतिनगर र किसाननगरसहित पहिलेका आठ गाविसक्षेत्र समेटिएको बर्दिबास नगरपालिका क्षेत्र विभिन्न खेल अभ्यासका लागि उर्वर मानिन्छ । बर्दिबासमा अहिले ६० जना नियमित अभ्यास गर्ने ब्याडमिन्टन खेलाडी छन् । दिनहुँ यो सङ्ख्या बढ्दो छ ।
भर्खरै सञ्चालित नयाँ कवर्डहलमा यसपालि नै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मधेश प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगितामा मधेशका आठ जिल्ला र छिमेकको वागमती प्रदेशमा पर्ने सिन्धुलीसहित नौ जिल्लाका ३६ टिमका ७२ खेलाडी सहभागी थिए ।