महोत्तरी : आफ्नै घरपायक सेवा पाउन थालेपछि महोत्तरी र धनुषाका उत्तरीक्षेत्रका टेलिकम ग्राहक (उपभोक्ता) निकै खुशी छन् । नेपाल टेलिकम बर्दिबास कार्यालयले सर्वसाधारण ग्राहकलाई चाहिने सबैजसो सेवा दिन थालेपछि यस क्षेत्रका बासिन्दालाई निकै राहत मिलेको छ । आफ्नै जग्गामा कार्यालय भवन बनेपनि टेलिकम बर्दिबास कार्यालयले १८ वर्षपछि यसपालि सुविधा विस्तार गरेर ग्राहक सेवा दिन थालेको हो ।

पूर्वपश्चिम राजमार्ग नजिकै आफ्नै भवन भएपनि टेलिकमले बर्दिबासबाट सेवा प्रवाह नगर्दा यसक्षेत्रका ग्राहक सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम र करिब ४५ किलोमीटर दुरीको जिल्ला सदरमुकाम जलेश्वरबाट सेवा लिदै आएका थिए । “देख्नलाई आफ्नै भवन थियो, तर हामीले पाउने सेवा केही थिएन, सानासाना कामलाई धाएर लालबन्दी, जनकपुर र जलेश्वर पुग्नुपथ्र्यो” यसअघिको दिक्दारी सम्झदै बर्दिबास-१२ बिजलपुराका रामविलास सिंह कुशवाहा भन्नुहुन्छ, “बल्ल टेलिकमले यहाँ (बर्दिबास) बाट सेवा दिन थाल्यो, अब टेलिकमसम्बद्ध सानातिना कामलाई धाएर टाढा जान नपर्ने भएपछि राहत भएको छ ।” यहाँ ग्राहकका लागि सेवा विस्तार भएको पनि धेरैपछि थाहा पाएको कुशवाहा बताउनुहुन्छ । बर्दिबास कार्यालयले सेवा थालेपछि टाढा जाने झञ्झटबाट छुटकारा र समय तथा खर्चको वचत पनि भएको कुशवाहाको भनाइ छ ।

विक्रम सम्वत् २०६२ सालमै आफ्नै भवन बनेर कार्यालय स्थापना गरिएपनि नेपाल टेलिकमले भवन रुङ्ने एकजना कर्मचारी राख्ने र लाइण्डलाइन टेलिफोनको समस्या सुन्नबाहेक बर्दिबासबाट कुनै सेवा दिएको थिएन । अब यसपालि कार्यालय स्थापनाको १८ वर्षपछि बल्ल काम विशेषले टेलिकम कार्यालय बर्दिबासमा ग्राहकको आउजाउ खुलेको हो । कार्यालयले ग्राहक सेवा खोलेको आठ महिना बितेपनि सेवाबारे सूचना राम्ररी प्रवाह हुन नसक्दा भर्खरभर्खर सेवाग्राहीको चाप बढेको टेलिकम बर्दिबास कार्यालयले जनाएको छ ।

“हामीले त गत जेठदेखि नै ग्राहक सेवा दिन थालेका हौं, तर काम लिएर आउने मान्छे खासै हुदैनथे” कार्यालय प्रमुख निरजकुमार जयसवाल भन्नुहुन्छ, “थाहा नभएर रहेछ, अबभने सेवाग्राहीको चाप बढ्दो छ ।” यसअघि जेठमा ग्राहक सेवा दिने भनिए पनि सोबारे थाहा नपाएर कतिपय ग्राहक सेवाका लागि लालबन्दी, जनकपुर, जलेश्वर पुगेका थाहा पाएपछि स्थानीय सञ्चारमाध्यम (एफएम रेडियो र पत्रिका) बाट प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।

बर्दिबास कार्यालयले अब एन्टी फाईभर नेटसहित टेलिकमले दिने सबैजसो सेवा दिन थालेको छ । यसैगरी केही महिनाभित्रै पुरानो प्रविधि कपर लाइन हटाएर फाइबर लाइन बिछ्याउँदै ग्राहक बढाउने लक्षसाथ काम गरी रहिएको कार्यालय प्रमुख जयसवाल बताउनुहुन्छ । बितेका १८ वर्ष लाइण्डलाइन टेलिफोन जडान र मर्मतमात्रको गुनासो सुन्ने गरेको कार्यालयले अब मोवाइलका नयाँ सिमकार्ड वितरण, हराएको सिमकार्ड दिने र पुरानो सिमकार्ड पनि मागकर्तालाई दिदैछ । यसैगरी आर्थिक भुक्तानी सेवा पनि कार्यालयले दिन थालेपछि सर्वसाधारण ग्राहकले निकै सजिलो भएको प्रतिकृया दिएका छन् ।

टेलिकमले २०६२ सालमा बर्दिवासमा कार्यालय स्थापना गरेपनि ग्राहक सेवा विस्तार नहुँदा जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिकाका बासिन्दा टेलिकमसम्बन्धी सेवा लिन टाढा जानपर्ने स्थिति थियो । अबभने जिल्लाका यी नगर बस्तीसहित बर्दिबाससँगै जोडिएको धनुषाको मिथिला नगरपालिकाका बासिन्दाले पनि घरपायक टेलिकम सेवा लिन पाइएको बताएका छन् । बर्दिबास कार्यालयको सेवा दुई लाख जनसङख्याबीच रहेको कार्यालय प्रमुख जयसवालको भनाइ छ ।

२०८० फाल्गुन १३, आईतवार १७:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय