महोत्तरी, १७ फागुन । जतिजति उमेर पाको हुँदै जान्छ, यहाँ आँखाको मोतिविन्दूको समस्या बढ्दो देखिएको छ । आज बिहीबार महोत्तरीको मटिहानीमा आयोजित एक दिने निशुल्क आँखा जाँच तथा शल्यकृया शिबिरमा मोतिविन्दू भेटिएका अधिकांश उमेरले ५० वर्ष नाघेका पाइएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखा र मटिहानी नगर कार्यपालिकाको कार्यालयले संयुक्त रुपमा शिबिर आयोजना गरेका हुन् । शिबिरमा नेपाल नेत्रज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । शिबिरमा आज आँखा जाँच गराएका २७० जनामध्ये ८२ जनामा मोतिविन्दू पाइएको छ । मोतिविन्दू पाइएमध्ये ५० जना ५० वर्ष उमेर माथिका रहेका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रले जानकारी दिनुभयो । मोतिविन्दू हुने ४० जना महिला छन् ।

मोतिविन्दू भएका सबैको आज नै जलेश्वरस्थित आँखा उपचार केन्द्रमा धमाधम शल्यकृया हुँदैछ । निष्पट्ट देख्न छाडेपछि आँखा जचाउँदा मोतिविन्दू भएको चिकित्सकले बताएपछि शल्यकृया गरिन लागिएको आँखा उपचार केन्द्र जलेश्वरमा भेटिनु भएकी मटिहानी-२ की ७० वर्षीया गुलरिया देवीले बताउनुभयो । अपरेसन (शल्यकृया) गरेपछि आँखा राम्ररी देख्नसक्ने डाक्टर (चिकित्सक) ले बताएपछि फेरि संसार देख्न पाउने आश जागेको उहाँको भनाइ छ । गुलरियाजस्तै मटिहानी-७ का ७३ वर्षीय लक्ष्मण मण्डल र मटिहानी-९ का ७१ वर्षीय मोहम्मद जुमन राइन पनि मोतिविन्दूको शल्यकृयाका लागि पालो पर्खदै हुनुहुन्छ ।

नगरमा बढ्दो उमेरका स्थानीय बासिन्दालाई लक्षित गरेर नै शिबिर आयोजना गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । नगरक्षेत्रमा फेरि आँखा जाँच शिबिर चाँडै आयोजना गरिने मण्डलले बताउनुभयो ।

 

२०८० फाल्गुन १७, बिहीबार १८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय