बर्दिबास, १७ फागुन । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खेलजगतले नेपाली राष्ट्रिय भावनालाई एक सुत्रमा बाँध्न सक्ने बताउनु भएको छ ।

आज बिहीबार महोत्तरीको बर्दिबासमा कराते खेलको छैठौं राष्ट्रिय रेफ्री सेमिनार तथा कोच एक्रिडिटेसन-२०८० को समापन तथा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले विभिन्न वेशभूषा, संस्कृति परम्परा र फरकफरक विचारबीच खेलले सबैलाई एक सुत्रमा बाँधेर राष्ट्रिय भावनामा जोड्नसक्ने बताउनुभएको हो ।

“कैयन कुराले निराशा बढेका बेला खेलका विभिन्न विधामा खेलाडीले पाएका सफलताले हामीलाई ढाडस मिलेको छ” मन्त्री भण्डारीले भन्नुभयो, “खेलाडीले दिएका र दिने यस्ता खुशीमा हाम्रो लय, भावना र मन एकत्रित हुन्छ ।” करातेका पूर्वखेलाडी मन्त्री भण्डारीले खेललाई खास समयको रमाइलो वा कुनै प्रतियोगितासँग जोडिने तयारीमात्र नभई व्यावसायिक रुपमै स्थापित गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

“खेलसँग जोडिएर इज्जत, प्रतिष्ठा र घरव्यवहार राम्ररी धानिने भरपर्दो आधार बन्छ भन्ने विश्वास खेलाडीलाई दिनसक्नु पर्छ” भण्डारीले भन्नुभयो, “यसका लागि केन्द्र सरकारमात्र नभएर प्रदेश र स्थानीय सरकारले स्पष्ट खाका बनाउन पर्छ ।” मुख्यत आफ्ना ठाउँका विभिन्न विधाका खेल र तिमध्ये महत्व र प्राथमिकता दिइन पर्ने विधालाई स्थानीयतहले योजनाबद्ध विकासको प्रकृयामा राख्न पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य शारदा थापाले प्रदेश सरकारले चार वर्षअघि नै माध्यमिक तहका सबै विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरिने र खेलमा महिलालाई प्रोत्साहन गरिने निणर्य गरेपनि सोअनुरुप काम नबढेको बताउनुभयो । समारोहमा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कणर्ले सबै स्थानीयतहले खेलको संस्थागत विकासका लागि प्रदेश र केन्द्र सरकारबाट साथसहयोग लिएर काम बढाउन सके चाँडै सकारात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले खेलको संस्थागत विकासका लागि प्रयत्नमात्र नभएर परिणाममुखी काम थालिएको उल्लेख गर्नुभयो । नगरमा नगर खेलकुद विकास समिति गठन गरिएको र समितिले वार्षिक तालिका बनाएर प्रशिक्षण, अभ्यास र प्रतियोगिता आयोजना गरीरहेको क्षत्रीले बताउनुभयो । बर्दिबास नगरपालिकाले करातेको प्रशिक्षण भवनका लागि जग्गा उपलब्ध गराउने निणर्य गरीसकेको उहाँले जानकारी दिनुभयो । सो अवसरमा नगरप्रमुख क्षत्रीले बर्दिबासका तीन राष्ट्रिय गौरवका आयोजनाहरु ब्र्दिबास मेडिकल कलेज, रेल्वे र फनपार्कको सुनिश्चितता र परिणाममुखी कामका लागि आवश्यक समन्वय गरीदिन मन्त्री भण्डारीसँग अनुरोध गर्नुभयो ।

नेपाल सितेरियो कराते महासङ्घका अध्यक्ष दावा लामाको अध्यक्षतामा आयोजित समारोहमा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामासहितका वरिष्ठ पदाधिकारीहरुको सहभागिता छ ।

कार्यक्रममा गत सोमबारदेखि आजसम्म सञ्चालित रेफ्री सेमिनार तथा कोच एक्रिडिटेसनमा सहभागी खेलाडीले सपथ लिएभने आजै प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने तालिका छ । यस प्रतियोगितामा सातवटै प्रदेशका एक/एक , नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक गरी जम्मा १० वटा टिम छन् । प्रतियोगितामा ११० महिला र १५४ पुरुषसमेत २६४ खेलाडी सहभागी हुने जानकारी दिइएको छ ।

नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगिताका महासङ्घ मधेश प्रदेश समिति र सितोरियो कराते डोजो बर्दिबास सहआयोजक छन् । प्रतियोगिता आयोजनाको खर्च बर्दिबास नगर खेलकुद विकास समितिले सहयोग गरेको छ ।

 

२०८० फाल्गुन १७, बिहीबार १८:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय