गोविन्द महतो / जनकपुरधाम

संघीय सरकारमा सत्ता गठबन्धन भत्किएसंगै मधेश प्रदेशमा पनि समिकरण परिवर्तन हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी सम्मिलित सरकारमा काँग्रेस बाहिरिने भएको हो ।

भौतिक पूर्वाधार सहित चार मन्त्रालय रहेको नेपाली काँग्रेस सत्ता गठबन्धन भत्किएसंगै उनीहरु राजिनामा दिने वा नदिने विषयमा केन्द्रको निर्णय कुरेर बसिरहेका छन् । यता जसपा संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोज कुमार यादव समेत केन्द्रको निर्देशन कुरिरहेका छन् । हाल प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनमत पार्टी बीचको तितक्ताले सरकारबाट बाहिरएको जनमत फेरी सरकारमा जाने वा नजाने अन्योलता देखिएको छ ।

जसपा र जनमतको निरन्तर टकरावले गत माघ ९ गते सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका जनमत पार्टीले यथास्थितिमा सरकारमा नजाने जनमतका उपाध्यक्ष तथा प्रदेशसभा सदस्य ई. बसन्त कुशवाहाले जानकारी दिए । उनले भने, ‘जसपा नेतृत्वको सरकारमा हामी सामेल हुँदैनौं । हामीले मुख्यमन्त्री मागेका छौं, मुख्यमन्त्री पाए जान्छौ. अन्यथा प्रतिपक्षमा बस्छौं ।’

नेकपा एमालेले पनि मधेशको मुख्यमन्त्री दाबी गरिरहेको संसदीय दलका नेता सरोज यादवले बताए । उनले भने, ‘सबैभन्दा ठुलो दलको हैसियताले मुख्यमन्त्री स्वभाविक हो ।’ तर गठबन्धन दलमा जसपाको मधेश प्रदेशको उपस्थितिले समीकरण मिलाउँदा जसपाले नै मुख्यमन्त्री पाउँने भए प्रायः निश्चित छ । यता एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेपनि काँग्रेस छोडने मन्त्रालय एमालेको भाग पर्ने श्रोतको बुझाई छ ।

यता नेकपा एकिकृत समाजवादी पार्टी सरकारमा बस्ने वा बाहिरिने निर्णय कुरेर बसेको छ । संसदीय दलका नेता गोविन्द न्यौपानेले पार्टी अहिले हेर र पर्खको स्थितिमा रहेकोले अहिले केही भन्न नमिल्ने बताए । उनले भने, ‘केन्द्रमा नयाँ समिकरण बनेको छ । हामी केन्द्रको निर्णय कुरेर बसिरहेका छौं, पार्टीको निर्णय अनुसार अगाडी बढछांै ।’

हाल मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली काँग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सीट रहेको छ । मधेश प्रदेशसभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र) को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र ३ स्वतन्त्र रहेका छन् ।

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता थमन विक हत्याकाण्डमा दोषि ठहर पछि हाल उनी संसद बाहिर रहेको छ ।

२०८० फाल्गुन २४, बिहीबार १६:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय